तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको पुलजिपमा अस्थाई प्रहरी पोष्ट स्थापना

तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका–४ मुग्लिन पुलजिप स्थित अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।

मुग्लिन पुलजिपको अस्थायी प्रहरी पोष्टको शनिबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।

निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा अवस्थित उक्त प्रहरी पोष्टको स्थापनाले प्रदेशकै शान्ति सुरक्षामा अहम भूमिका निर्वाह गर्ने बताउनुभयो ।

कोरना भाइरसको संक्रमणलाई थप फैलन नदिन सिमा नाकामा हुनुपर्ने चेकिङलगायत सुरक्षा सतर्कतामा थप सहजता प्रदान हुने विश्वास मन्त्री चुमानले व्यक्त गर्नुभयो ।

साथै प्रदेश अन्तर्गतको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै आम नागरिकको सहज पहुँच हुने गरि प्रहरी सेवाको विस्तार र भौतिक पूर्वाधारयुक्त प्रहरी संरचनाको विकास गर्न गण्डकी प्रदेश सरकार तत्पर रहेको समेत मन्त्री चुमानले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उक्त प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने साथै आम नागरिकका समस्या समाधानका लागि प्रहरीको मनोवल उच्च हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख शसस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button