थिमिमा समुदाय स्तरमा कोरोना परीक्षण सुरु

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले समुदाय स्तरमा कोरोना परीक्षण सुरु गरेको छ ।
नगरभित्र दिन प्रतिदिन सङ्क्रमित बढ्न थालेपछि कोरोना समुदाय स्तरमा फैलिएको शङ्कामा परीक्षण सुरु गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसका लागि नगरपालिकाले सङ्क्रमितहरूको प्रत्यक्ष सम्पर्कमा रहेका र जोखिममा परेकाहरूको पहिचान गरी नामावली सङ्कलन गरेको छ ।
मथिनपा वडा नम्बर १ का वडाध्यक्ष सुरज खड्काले समुदाय स्तरको परीक्षणका लागि नगरपालिकाले वडा वडामा रहेका दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न तथा किराना, तरकारी तथा फलफूल, माछा, मासु पसल सञ्चालकहरूको समेत नामावली सङ्कलन गरेको बताउनुभयो ।
नगरपालिकाले कम्तीमा एक हजार जनाको परीक्षण गर्न लागेको भन्दै त्यसका लागि वडा वडामा ६०४ जनाको कनट्र्याक्ट टेसिङ गर्ने कार्य सम्पन्न गरिसकेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
कोरोना सङ्क्रमितसँग सम्पर्कमा आएका सबैको पहिचान गरेर स्वाब सङ्कलन गरिएको मथिनपा वडा नम्बर १ का वडाध्यक्ष सुरज खड्काले बताउनुभयो ।
नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सञ्चालित पीसीआर परीक्षणको रिपोर्ट २४ घण्टाभित्रै आउने बताउँदै नगरप्रमुख श्रेष्ठले नतिजा आएपछि सङ्क्रमितको अवस्थाअनुसार कसैलाई होम आइसोलेसन र कसैलाई अस्पतालको आइसोलेसनमा पठाउने काम भइरहेको जानकारी दिनुभयो । भक्तपुरका चार वटा नगरपालिकामध्ये मध्यपुर थिमिमा सबैभन्दा बढी सङ्क्रमित देखा परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्