वीरेन्द्रनगरको स्वरुप फेर्न ५० करोड विनियोजन
सुर्खेत । वीरेन्द्रनगरमा राजधानी एकीकृत शहरी विकास आयोजना सञ्चालन हुने भएको छ ।
प्रदेश राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरको विकासका लागि एकिकृत योजना कार्यान्वयनमा गरी मुहार फेर्ने तयारी प्रदेश सरकारले गरेको हो । कर्णाली प्रदेश सरकारले पहिलो चरणमा आर्थिक वर्ष २०७७–०७८ का लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
राजधानी एकीकृत शहरी विकास आयोजना कार्यान्वयनका लागि अहिले कार्यविधि निर्देशिका तयार भईरहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनु भयो । उहाँले पहिलो चौमासिक भित्रै आयोजना कार्यान्वयनका गर्ने लक्ष्यका साथ कार्यविधि निर्देशिका तयार भईरहेको जनाउनु भयो ।
उहाँका अनुसार राजधानीको मुहार फेर्न दिगो विकास लक्ष्यका साथ प्रदेश सरकार प्याकेजमै विकास गर्न लागि परेको छ । आयोजना मार्फत आधारभूत पूर्वाधार र सुविधासहितको व्यवस्थित शहरी विकासलाई प्राथमिकता दिदै राजधानीलाई व्यवस्थित विकासका लागि सडक खानेपानी, विद्युत, ढल हरियालीसहित राजधानी वीरेन्द्रनगर शहरी एकीकृत विकास आयोजना सञ्चालन गरिएको उहाँले जानकारी दिनु भयो ।
उहाँले दलित विपन्न र सिमान्तकृत अल्पसंख्यक समुदायको आवास निर्माणमा सहयोग गर्नुका साथै जनता आवास कार्यक्रमलाई समेत निरन्तरता दिइने बताउनु भयो ।
यता वीरेन्द्रनगरका समाजसेवी विनोद ढकाल सरकारी जमिन संरक्षण गर्दै बढ्दो अतिक्रण रोकेर सभ्य तथा सुन्दर वीरेन्द्रनगर शहर बनाउनेतर्फ प्रदेश सरकार लाग्नुपर्ने सुझाव दिनु भयो ।
उहाँले प्रदेशको राजधानी वीरेन्द्रनगर भएसँगै बसाइँसराई गरेर आउनेको संख्या बाक्लिँदै गएकाले ठुलाठुला घर बन्ने र अव्यवस्थित बसोवास हुन थालेको बताउनुभयो । उहाँका अनुसार अहिले वीरेन्द्रनगरमा गुरुयोजना विपरीत जग्गा प्लटिङ, अतिक्रमणजस्ता कारणले अव्यवस्थित र कुरुप बनाउने काम भईरहेकाले राजधानी शहरी एकीकृत विकास परियोजना सञ्चालन गरेपछि नियन्त्रित हुने छ ।








प्रतिक्रिया राख्नुहोस्