कुकुरले टोकेर तीन जनाको मृत्यु भएपछि मेलुङमा रेविज आतङ्क
दोलखा । दोलखा मेलुङ गाँउपालिका वडा नम्बर ६ की राधिका भण्डारीको आँखा एक हप्ता देखि ओभानो छैन । भदौ ५ गते रेविजको उपचार गर्छु भनेर झोला भिरेर काठमाडौँ गएको जेठा छोरा ३२ बर्षका रामचन्द्र भण्डारी नर्फकिएपछि राधिकाको आँखाबाट निरन्तर आशु झरिरहेका छन् । राधिकासंगै मृतकको बुबा, श्रीमती र सिंगो परिवार शोकमा छ ।
मेलुङ गाँउपालिकामा असार २६ गते कुकुर आतङ्क मच्चियो । एउटा कुकुरले विहान देखि साँझसम्म वडा नम्बर ५ र ६ का १० जनालाई टोक्यो । गाँउलेले त्यो कुकुरलाई २६ गते साँझ नै मारीदिए । १० जनालाई टोक्ने त्यो कुकुर बहुला कुकुर भएको आशंकामा पीडितहरुले नजिकको मेडिकलमा रेविजको इन्जेक्सन लगाए ।
रेविजको इन्जेक्सन लगाउदै गर्दा ढेड महिना भित्र तीन जनाको मृत्यु भएपछि अहिले मेलुङ गाँउपालिका भरी रेविज आतङ्क फैलिएको छ । गाँउका मानिस अहिले सामान्य कुकुर देख्दा पनि तर्सने गरेका छन् । असार २६ गतेपछि अन्य कुकुरले टोकेको मानिस पनि अहिले रेविज भयो की भनेर आतङ्कीत बनिरहेका छन् ।

असार २६ गते विहान कुकुरले टोकेपछि मृतक रामचन्द्र भण्डारीले नजिकैको मेडिकलमा गएर रेविजको इन्जेक्सन लगाएका थिए । इन्जेक्सनको चार डोज लगाईसकेको अवस्थामा भदौ पाँच गते उनी एक्कासी बिरामी परे । उनलाई पानी खान समस्या हुने, पानी देखि डर लाग्ने, हावा देखि डर लाग्ने समस्या देखियो । रेविज भएको आशंकामा तत्कालै एम्बुलेन्स बोलाएर उनी एक्लै उपचारको लागि काठमाडौँ गए, तर जिवित फर्केनन् ।
मृतक रामचन्द्रका आमा त्यो दिन सम्झदै भन्नु हुन्छ– ‘भदौ चार गते बेलुका रामचन्द्र मामासंग सुतेको थियो । राति नै केहि समस्या भयो भन्दै थियो रे, विहान उठेपछि घाटीमा समस्या भएको, पानी खान अप्ठेरो हुने र पानी तथा हावासंग डर लाग्ने गरेको हामीलाई सुनायो । अनि उ आफैले रेविजको आशंका गरेर उपचार गर्न जान्छु भनेर काठमाडौँ हिडेको तर फर्किएर आएन ।’
रामचन्द्र भण्डारी भन्दा अघि त्यहि कुकुरले टोकेको बैतेश्वर गाँउपालिका घर भै वडा नम्बर ६ मामा घर आएका ८ बर्षिय कुशल नेपालीको साउन २३ गते र वडा नम्बर ५ का १५ बर्षिय सुरोज विकको भदौ २ गते मृत्यु भै सकेको थियो । ‘कुकुरले टोकेका दुई जनाको मृत्यु भएको हामीले पनि सुन्यौ तर उनीहरुले रेविजको इन्जेक्सन लगाएनछन् क्यारे भन्ने हामीलाई लाग्यो’ मृतक भण्डारीका बुबा लोकनाथ भण्डारीले रुदै भने– ‘छोराले चार डोज इन्जेक्सन लगाई सकेकोले केही हुदैन भन्नेमा हामी ढुक्क थियौ तर भदौ पाँच गते बिरामी परेर १० गते पाटन अस्पतालमा छोरोको मृत्यु भयो ।’
आफ्नो छोरा र अरु दुई जनाको कुकुरले टोकेर भन्दा पनि मेडिकलले लापरवाही गरेर गलत ढङ्गले इन्जेक्सन लगाईदिदा मृत्यु भएको लोकनाथ बताउछन् । मृतकको भाइ हरिशचन्द्र भण्डारीले रेविज खोप लगाउने स्थानिय मेडिकलका स्वास्थ्यकर्मी कृष्णकुमार कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा मुद्दा दर्ता गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले कार्की विरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको र आवश्यक छानविन भइहेको बताउनु भयो ।

मेलुङ गाँउपालिकामा अहिले महामारी रोग नियन्त्रण महाशाखाबाट आएको टोलिले असार २६ गते कुकुरले टोकेको ६ जना र अन्य कुकुरले टोकेको तथा कुकुरको टोकाईबाट मृत्यु भएकाहरुको सम्पर्कमा पुगेका गरी ५१ जनालाई रेविज रोग विरुद्धको भ्याक्सीन दिएको छ ।
रेविजको इन्जेक्सन लगाएर पनि कुकुरले टोकेको मानिसको मृत्यु भएपछि स्वास्थ्य कार्यालय दोलखाको खोप अधिकृत तुलसि सुवेदीको टिमले त्यसबारे स्थलगत अध्यन समेत गरिरहेको छ । खोप अधिकृत सुवेदीले प्रारम्भिक अध्यनमा स्थानीय मेडिकलमा रेविजको खोप आवश्यक ट्याम्प्रेचर नमिलाई राखिएको र बिरामीलाई डोज नमिलाई दिएको पाईएको बताउनु भयो ।
कुकुरको टोकाईपछि गाँउपालिका भरी रेविज आतङ्क फैलिएपछि अहिले गााउपालिकाले सबै वडामा रहेको छाडा तथा घर पालुवा कुकुरलाई रेविजको इन्जेक्सन लगाउने र कुकरले टोकेको तथा कुकुरको टोकाईबाट मृत्यु भएकाहरुको सम्पर्कमा पुगेकाहरुलाई समेत रेविजको इन्जेक्सन दिन विशेष महामारी रोग नियन्त्रण महाशाखा टेकुको टोलिले अभियानकै रुपमा काम सुरु गरेको गाँउपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्