तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा कोरोना सङ्क्रमणबाट एक महिलासहित थप तीन जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ बस्ने ४३ वर्षीय पुरुष, महानगरपालिकाकै वडा नम्बर–२६ मनियारी बस्ने ३७ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीकी ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसीयाले बताउनुभयो ।

२ जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रवक्ता चौरसियाले जानकारी दिनुभयो ।

बीरगंज महानगरपालिका वडा नम्बर १२ बस्ने ४३ वर्षीय पुरुषको एचआइभी र हेपाटाइटिस बीले ग्रसित भई नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि हिजो मात्रै उनलाई नारायणी अस्पतालको अस्थायी कोभिड बीरगंज हेल्थ केयरमा उपचारकालागी ल्याइएकोमा उनको उपचारकै क्रममा गए राति १२ बजे मृत्यु भएको थियो ।

त्यसै गरी अर्का ३७ वर्षीय मनियारीका युवकको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि तराई अस्पतालमा उपचार भइरहेको थियो । उनलाई शुक्रवार दिउँसो कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । स्थिति गम्भीर भएपछि तराई अस्पतालकै एम्बुलेन्समा भेन्टिलेटर र क्रिटिकल केयरमा काम गर्ने स्वास्थ्यकर्मीसहित थप उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो ।

राति ११ः४१ बजे चितवनको मुग्लिङ पुग्दा सङ्क्रमित युवकको बीचबाटोमै मृत्यु भएको डाक्टर चौरसीयाले बताउनुभयो । यसैगरी उपचारकै क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीकी ६५ वर्षीया महिलाको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि शुक्रवार दिउँसो २ बजेतिर बीरगंजको नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । ब्लड प्रेसर लो भई उनलाई झाडा पखाला समेत भएको थियो । उनको उपचारको क्रममा हिजो साँझ ६ बजे नारायणी अस्पतालमै मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले बताउनुभयो ।

हाल नारायणी अस्पताल वीरगञ्जको अस्थायी कोभिड गण्डक र बीरगंज हेल्थ केयर अस्पतालमा ३९ जना महिलासहित १ सय ३१ जना उपचाररत छन् । उपचार भई रहेका मध्ये ३३ जना आइसियुमा रहेका छन् ।

हालसम्म बीरगंजमा कोरोना सङ्क्रमणको कारण ४८ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ३६ जना पर्साका, १० जना बाराका र २ जना रौतहटका रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button