संक्रमण रोक्न सोह्रश्राद्ध भर्चूअल माध्यमबाट गर्न आग्रह

रुपन्देही । कोरोना सङ्क्रमणको महामारी रोक्न रुपन्देहीको तिलोत्तमामा नगरपालिकाले सोह्र श्राद्ध (पितृपूजन)मा कार्य वैकल्पिक तरिकाले विद्युतीय भर्चूअल माध्यमबाट गर्न आग्रह गरेको छ ।
विभिन्न स्थानमा पूजा गराउने पण्डितमा समेत संक्रमण भेटिएपछि नगरले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । पुरोहित सोह्रश्राद्ध कार्यमा एकै दिन धेरै जनाको घरमा जाने प्रचलन रहेकाले सङ्क्रमणको जोखिमका कारण वैकल्पिक तरिकाले विद्युतीय भर्चुअल माध्यमबाट सोह्रश्राद गर्ने गराउने व्यवस्था गर्न नगरपालिकाले अपिल गरेको जनाएको छ ।
प्रत्येक वर्ष आश्विन कृष्ण पितृ पक्षमा गरिने श्राद्ध (पितृ पूजन) यस वर्ष भदौ १७ गतेबाट सुरु हुँदैछ । नगरपालिकाले जन्म, न्वारान, व्रतबन्ध, विवाह, मृत्यु संस्कार पारिवारिक रूपमा गर्न भनेको छ ।
यस्तै नगरपालिकाले सोह्र श्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धु बान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरू मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि सबैमा आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्