रेडियो नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबीच सम्झौता
काठमाडौं । रेडियो नेपालबाट स्वास्थ्य सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम तथा सन्देश प्रसारण गर्ने सम्बन्धमा रेडियो नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबिच आज सम्झौता भएको छ ।
सम्झौता अनुसार रेडियो नेपालबाट कोभिड १९ सम्बन्धी भइरहेका काम, देशभर भइरहेका गतिविधि, हालसम्म भएका प्रगति, कोभिड १९ रोकथाम तथा औषधी सम्बन्धमा भएका खोज लगायतका सामग्री प्रस्तुत गरिने छ । त्यसैगरी स्वास्थ्य सम्बन्धी विभिन्न चेतना मूलक कार्यक्रम, सन्देशहरु रेडियो नेपालबाट थप प्रसारण गरिनेछन् ।
सम्झौतापत्रमा आज रेडियो नेपालको तर्फबाट कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र नायब कार्यकारी निर्देशक कृष्ण कोइराला तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको तर्फबाट निर्देशक सुनिल राज शर्मा र उपनिर्देशक कुञ्ज प्रसाद जोशीले हस्ताक्षर गर्नुभयो ।
यसैगरी, रेडियो नेपाल र नेपाल टेलिकमबिच रेडियो नेपालबाट टेलिफोन, मोबाइल लगायतका सेवाका बारेमा सन्देश तथा कार्यक्रम मार्फत नागरिकलाई सूसूचित गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा रेडियो नेपाल का तर्फबाट कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार रेडियो नेपालले टेलिकमले नागरिकका लागि उपलब्ध गराएका नयाँ नयाँ सेवा तथा विद्या सम्बन्धी सन्देश केन्द्रिय तथा प्रादेशिक प्रसारण तथा विभिन्न राष्ट्रिय भाषमार्फत प्रसारण गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्