ओलम्पिक कमिटीका महासचिव श्रेष्ठलाई कोरोना पोजेटिभ
काठमाडौं । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ ।
साउनको अन्तिम साता एनओसीका २ कर्मचारीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा महासचिव श्रेष्ठलाई समेत कोरोना पोजेटिभ देखिएको हो ।
महासचिव श्रेष्ठसँगै एनओसीमा कार्यरत थप २ कर्मचारीमा समेत कोरोना पुष्टि भएको बताइएको छ । तर, उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
आफुलाई कोरोना सक्रमण भए पनि स्वास्थ्य स्थिति सामान्य रहेको महासचिव श्रेष्ठले बताउनुभयो । १० दिन अगाडी परिक्षण गरेकोमा रिपोर्ट आउन ढिलाइ भएपछि कोरोना भएको शंका लागेको जानकी दिदै महासचिव श्रेष्ठले रिपोर्ट तीन दिन अगाडीमात्र पाएको र सातदोबाटो स्थित ओलम्पिकको कार्यालयमा नै आइसोलेसनमा बसिरहेको बताउनुभयो ।
एनओसीमा कार्यरत कर्मचारीहरुको साउन ३२ गरिएको कोरोना परीक्षणमा २ जना कर्मचारी कोरोना पुष्टि भएको थियो । उनीहरुको कोरोना पुष्टि भएसँगै भदौ ३ गते एनओसीका पदाधिकारी, कार्यसमितीका सदस्य तथा कर्मचारीहरु गरी २० जनाको कोरोना परीक्षण गरिएको थियो ।
यसका साथै ओलम्पिकमा मात्र कोरोना पुष्टि हुने ५ जना पुगेका छन । कोरोना पुष्टि भएकाहरू सबै क्वारेन्टिनमा बसिरहेका छन ।








प्रतिक्रिया राख्नुहोस्