मोरङका ६ स्थानीय तहद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

विराटनगर । मोरङका ६ वटा स्थानीय तहका प्रमुखहरूले कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् ।
मोरङको रत्ुवामाई, सुनवर्षी, रंगेली, धनपालथान, कटहरी र जहदाका प्रमुख तथा अध्यक्षहरूले मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भेट गरी ध्यानाकर्षण गराएका हुन् ।
भेटघाटमा रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले पीसीआर परीक्षणको रिपोर्ट आउन ४÷५ दिन लाग्ने, लक्षण देखिएका सङ्क्रमितहरूलाई कोभिड अस्पतालले भर्ना लिन नमान्ने र लकडाउनको मौका छोपी सिम क्षेत्रमा हुने तस्करीका कार्यहरू लगायतका समस्याहरू तत्काल समाधानका विषयमा ध्यानाकर्षण गराउनु भएको छ ।
त्यस्तै स्थानीय तहले निर्माण गरेको आइसोलेसन वार्डको व्यवस्थापनमा सहयोग गर्न पनि माग राखेका छन् ।
कोरोना सङ्क्रमणका लागि दक्षिणी मोरङका रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिका एकजुट भएर लागि परेका छन् । ६ वटै पालिकाको संयुक्त बैठकबाट १७ गते सम्मका लागि लकडाउन कायम राखिएको छ ।
मुख्यमन्त्री शेरधन राईले पालिकाहरूले गराएको ध्यानाकर्षणको विषय तत्कालीन आवश्यकता अनुसार गंभिर रहेको भन्दै समाधानका लागि प्रदेश सरकारले उचित कदम चाल्ने बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्