गुल्मीमा पिसिआर मेसिनको परिक्षण शुरु
काठमाडौं -परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा निःशुल्क रुपमा गुल्मी पुर्याइएको पिसिआर मेसिन परिक्षण शुरु भएको छ । ज्ञवालीकै पहलमा काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकहरु गुल्मी लगेर परिक्षणको प्रकृया शुरु गरिएको हो ।
मेसिनले ‘पोजेटिभ’ रिपोर्ट ठीक दिएपनि ‘नेगेटिभ’ रिपोर्टमा केही समस्या देखिएकोले पूर्ण परिक्षणका लागि काठमाडौं ल्याइएको मन्त्री ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताउनुभयो । ‘परिक्षण गर्ने क्रममा ‘नेगेटिभ’ रिपोर्टको विवरणमा केही समस्या भएकोले यो जोखिमपूर्ण समयमा काठमाडौं आउजाउ गरीरहनु भन्दा मेसिन नै लिएर आएका छौँ’, उहाँले भन्नुभयो, ‘अहिले उत्पादक कम्पनीसँग कुरा भैरहेको छ, सफ्टवेयरमा देखिएको समस्या समाधान भएन भने नयाँ मेसिन लैजाने कुरा भएको छ ।’
भोली परिक्षण शुरु भएपछि गलत रिपोर्ट नआओस् र जनतालाई दुःख नहोस् भनेर अहिले नै ढुक्क हुन खोजेको उहाँको भनाई छ । प्राविधिकहरुका अनुसार पिसिआर मेसिन परिक्षणको क्रममा आउने यस्ता समस्याहरु सामान्य हुन् । जस्तै सुर्खेत, कीर्तिपुर, डोटी लगायतका स्थानमा पिसिआर मेसिन एक हप्तामै विग्रँदा समस्या भएको थियो । त्यसैले मेसिन इन्स्टलेसन ९स्थापना०को क्रममा तयारी गरेकाले आगामी दिनमा समस्या नहुने विज्ञहरुको भनाई छ ।
मेसिन गुल्मीको तत्कालिन महिला तथा वालबालिका कार्यालयले उपल्लो तम्घासमा बनाएको भवनमा राख्नका लागि रेसुङ्गा नगरपालिकाले पूर्वाधार तयार गरिरहेको छ । सबैभन्दा महंगो मूल्य पर्ने मूख्य मेसिन निःशुल्क रुपमा उपलब्ध भएको र बाँकी २१ वटा उपकरणहरुको खरिद प्रकृया अन्तिम चरणमा पुगेको पनि भुसालले बताउनुभयो । ‘कुनै अबरोध भएन भने यो महिनाभित्र जिल्ला भित्रबाटै परिक्षणको काम शुरु हुन्छ’, उहाँले भन्नुभयो ।
मेसिन सञ्चालनका लागि आवस्यक जनशक्ति शुरुमा भैरहवा र काठाडौंबाट लगिने र थप जनशक्तिलाई तालिम दिने तयारी रहेको रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले बताउनुभयो । उक्त मेसिन स्थापना भएपछि एक सिफ्टमा काम गर्न कम्तिमा ५ जना जनशक्ति आवस्यक पर्ने र आवस्यकता अनुसारको जनशक्तिलाई काठमाडौंमै तालिम दिने व्यवस्था मिलाइएको परराष्ट्रमन्त्री ज्ञवालीको सचिालयले जनाएको छ ।
सामाजिक सञ्जालमा गलत हल्ला चल्यो
मेसिन स्थापनाको लागि गुल्मीमा स्थानीय तहको तर्फबाट ल्याव राख्ने ठाउँको तयारी अलि ढिला भएपनि मेसिन परिक्षणको क्रम भने निरन्तर चलिरहको जनाइएको छ ।
शुरुमा भैरहवाबाट प्राविधिकहरु गएर परिक्षण गरेका थिए । त्यसपछि अन्तिम परिक्षणको लागि मन्त्री ज्ञवालीले राष्ट्रिय प्रयोगशालाका प्राविधिकहरु पठाएका थिए ।
उक्त प्राविधिक टोलीले मेसिनमा देखिएको सफ्टवेयरको समस्या काठमाडौंमै परिक्षण गर्ने र समाधान नभए घरि(घरि आउजाउ गर्नुभन्दा नयाँ मेसिन लैजाने तयारीका साथ ल्याएको जनाइएको छ ।
तर जटिल प्रविधि सहितको मेसिन भएकोले सफ्टवेयरमा देखिएको समस्या समाधान गर्नका लागि काठमाडौं ल्याइएको कुरालाई गलत रुपमा प्रचार गरिएको प्राविधिकहरुले जनाएका छन् । ‘काठमाडौंबाट उत्पादक कम्पनीमा सम्पर्क राखेर समस्या समाधान गर्न र नभएमा नयाँ मेसिन लैजाने तयारी गरिएको हो’ ति प्राविधिक भन्छन्, ‘तर परिक्षणको क्रममा रहेको मेसिन फिर्ता भनेर हल्ला चलाउनु गलत हो ।’
मेसिनका लागि स्थानीय तहले रकम उठाएका छैनन्
सो मेसिन किन्नका लागि स्थानीय तहले रकम संकलन गरेको भन्ने हल्ला गलत भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । मन्त्री ज्ञवालीले निःशुल्क रुपमा उपलब्ध गराउनु अघि गुल्मीका स्थानीय तहले आफै मेसिन किन्ने सहमति गरेका थिए ।
गत जेठमा जिल्ला प्रशासन, स्वास्थ्य कार्याय तथा स्थानीय तहका प्रमुखहरु लगायतका सरोकारवालाको बैठकले गुल्मीमा ल्याव स्थापनाका लागि नेकपा नेता गणेश श्रीपालीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । सो समितिले स्थानीय तहको साझेदारीमा सदरमुकाममा मेसिन स्थापना गर्ने सुझाव सहितको प्रतिबेदन बुझाएको थियो ।
तर समितिको सुुझाव अनुसार मेसिन किन्ने प्रकृया अगाडि बढाउनु भन्दा पहिला नै परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा निःशुल्क रुपमा मेसिन गुल्मी पुर्याइएपछि ल्याव स्थापनाको प्रकृयामा शुरु भएको थियो । पिसिआर मेसिन निःशुल्क प्राप्त भएपछि ल्याव स्थापना, ल्यावका लागि आवस्यक पर्ने अन्य उपकरण र जनशक्ति व्यवस्थापनमा जिल्लाका १२ स्थानीय तहले सहयोग गर्ने लिखित सहमति गरेका थिए ।
तर अहिलेसम्म कुनैपनि स्थानीय तहले रकम संकलन नगरीसकेको ल्यावको समन्वय गरिरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख भुसालले बताउनुभयो । ‘ल्याव स्थापनाको काम भइरहेको र फ्रिज लगायत २१ प्रकारका उपकरण खरिदको प्रकृयासम्म कुनै पालिकाले पनि अहिलेसम्म रकम दिएका छैनन,’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्