प्रदेश नंं २ मा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो

जनकपुरधाम । प्रदेश नंं २ का विभिन्न जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या पाँच हजार भन्दा बढी पुगेको छ । आज मात्र पर्सा, वारा, रौतहट तथा सर्लाही जिल्लामा गरेर ५७ जना थप भएसंगै संक्रमितहरुको संख्या ५ हजार ३० जना पुगेको छ ।
सक्रिय संक्रमित मध्ये विभिन्न आईसोलेसनमा बसेर उपचारमा रहेको संख्या १ हजार १ सय २१ जना रहेपनि होमआईसोलेसनमा बस्नेहरुको संख्या ३ हजार ८ सय ६२ पुगेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सबै भन्दा बढी सक्रिय संक्रमित पर्सा जिल्लामा रहेका छन् । सो जिल्लाको विभिन्न आईसोलेसनमा ५ सय २३ जना तथा होमआईसोलेसनमा ८ सय ७० जना गरेर १ हजार ४ सय ३ सक्रिय संक्रमितहरु भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनु भयो ।
यसैगरी, रौतहट जिल्लामा रहेको विभिन्न आईसोलेशन सेन्टरमा ६५ जना तथा होमआईसोलेसनमा ७ सय ४२ जना गरेर ८ सय ७ जना सक्रिय संक्रमित रहेका छन् । महोत्तरी जिल्लाको विभिन्न आईसोलेसन सेन्टरमा २१ जना तथा होमआईसोलेसनमा ७ सय ३ जना गरेर सक्रिय संक्रमितको संख्या ७ सय २४ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी सर्लाही जिल्लामा रहेको विभिन्न आईसोलेशन सेन्टरमा १ सय ३ जना तथा होम आईसोलेसनमा ५ सय ५६ जना गरेर कूल ६ सय ५९ सक्रिय संक्रमित उपचारमा रहेका छन् । धनुषा जिल्लाको विभिन्न आईसोलेसन सेन्टरमा ५५ जना तथा होम आईसोलेसनमा ४ सय ७२ जना गरेर कूल ५ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी, बारा जिल्लाका विभिन्न आईसोलेशन सेन्टमा ८६ जना तथा होमआईसोलेशनमा ४ सय २५ जना गरेर कूल ५ सय ११ सक्रिय संक्रमितहरु उपचारमा रहेका छन् भने सप्तरी जिल्लाको विभिन्न आईसोलेशन सेन्टरमा १ सय ४२ जना तथा होमआईसोलेशनमा ९१ जना गरेर २ सय ३३ जना सक्रिय संक्रमित रहनु भएको छ ।
प्रदेश नंं २ मा सबैभन्दा कम सिरहा जिल्लामा सक्रिय संक्रमित रहेका छन् । सिरहा जिल्लाको विभिन्न आईसोलेशन सेन्टरमा १ सय १६ जना तथा होम आईसोेलेशनमा ३ जना गरेर कूल १ सय १९ जना उपचारमा रहेको प्रदेश नं. २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खास गरेर होम आईसोलेशनमा वस्नेहरु प्रायः लक्ष्ण नभएकाहरु नै रहेको सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिनु भयो । कोरोना संक्रमित भएका प्रदेश नंं २ का ९ हजार ५ सय ५१ जना मध्ये निको भएर ४ हजार ४ सय ९६ जना घर फर्किएका छन् ।








प्रतिक्रिया राख्नुहोस्