तपाईँ सुन्दै हुनुहुन्छः

सांसद सिंहद्वारा नदीहरूको स्थलगत अवलोकन निरीक्षण

सप्तरी– राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य शेखर सिंहले नदी नियन्त्रण तथा खेतीपातीका लागि सिँचाइको पूर्ण व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सप्तरीका विभिन्न नदीहरुको स्थलगत अवलोकन निरीक्षण पश्चात् सिंहले बर्सेनि बाढीजन्य प्रकोपका कारण भोग्दै आएको सप्तरीबासीको पीडालाई सम्बोधन गर्न पहल गर्ने बताउनुभएको हो ।

स्थलगत अवलोकन टोलीलाई सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम शर्मा र वडाध्यक्षहरुले नदीका कारण उत्पन्न समस्याका बारेमा जानकारी गराउनुभयो । कमजोर तथा कम उचाइको बाँधको कारण त्रियुगा नदीको बाढीले सप्तकोशी नगरपालिकाको फत्तेपुर, बोचहीलगायतका पाँचभन्दा बढी वडाका बासिन्दालाई डुबाउने गरेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

सो क्रममा राष्ट्रियसभा सदस्य सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसद्मा उठाउँदै आएको र अझ बलियो ढङ्गले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरेको बताउनुभयो ।

सप्तकोशी नदीका कारण उत्पन्न समस्याको समयमै भारत सरकारबाट सम्बोधन हुनुपर्ने जिकिर गर्दै सांसद सिंहले भारतको कुनौलीदेखि उदयपुरको बेलका नगरपालिकासम्मको कोशीको पश्चिमी तटबन्धलाई बलियो बनाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

सप्तरीको खाँडो, जिता, बलान, महुली, मुतनी, त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गङ्गाजलीलगायतका दर्जनौँ खोलाले बर्सेनि बाढी तथा कटान गर्दै आएको छ । कोशी नदीका कारण पनि सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित बन्दै आएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दालाई महुली खोलाले पनि प्रभावित बनाउँदै आएको छ । महुली खोलाले कटान गरेको क्षेत्रको समेत सांसद सिंहको टोलीले अवलोकन गरेको छ ।

अवलोकन निरीक्षण टोलीले सप्तकोशी नगरप्रमुख शर्मा, कञ्चनरुप नगरप्रमुख वसन्तकुमार मिश्र, तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहडखेरसँग बाढीजन्य प्रकोप र त्यसबाट हुने गरेको क्षतिलगायतको बारेमा छलफल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button