तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा, बारा, रौतहट र सर्लाहीमा  थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा आज थप पर्सा, बारा, रौतहट र सर्लाहीका ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका दुई जना र सर्लाहीका एक जनामा संक्रमण देखिएको नारायणी अस्पतालका सूचना अधिकारी डा.अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

प्रयोगशालामा तीन सय आठ वटा स्वाबको नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताउनुभयो । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् ।

नारायणी अस्पतालका प्रवक्ता डा.चौरसियाका अनुसार पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारीका दुई जना, पर्सागढी नगरपालिकाको वडा नं. ८ हरपुरमा एक जना, वीरगञ्ज महानगरपालिकाको वडा नं. ११, १२, १३, २१, वडामा थप सङ्क्रमितहरू फेला परेका छन् ।

त्यसै गरी वीरगञ्जको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक र वीरगञ्ज हेल्थ केयर अस्पतालमा ३७ जना महिलासहित एक सय ३१ जना कोरोना सङ्क्रमित उपचाररत छन् ।

कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा छ जना महिलासहित २० जना आइसियुमा छन् । हिजो ६२ वर्षीय एक पुरुषलाई थप उपचारका लागि ग्रान्डी हस्पिटलमा पठाइएको छ ।

त्यस्तै कोभिड अस्पताल गण्डकमा एक जना महिलासहित नौ जना आइसियुमा रहेका छन् । जसमध्ये ६० वर्षीय पुरुषको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

गण्डक कोभिड अस्पतालका संयोजक डा.उदय नारायण सिंहले गम्भीर अवस्थाका विरामीको सङ्ख्या बढ्दै गएको बताउँदै तीन जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button