तपाईँ सुन्दै हुनुहुन्छः

घर दैलोमै पुगेर पहिरो र बाढी प्रभावितको अनुगमन

 

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले बर्षात पछि आएको पहिरो र बाढीबाट प्रभावितहरूको घर दैलोमै पुगेर अनुगमन गर्न सुरु गरेको छ ।

९ गते बसेको नगर बिपद व्यवस्थापन समितिको निर्णय बमोजिम जोखिमयुक्त घर तथा बस्तीको नगर प्रमुख डम्बर अर्याल सहितको टोलीले बिहीबारबाट अनुगमन थालेको हो ।

तत्काल बाढी पहिरोबाट विस्थापित भएका तथा जोखिममा रहेका बस्तीहरूको पहिचान गरिने र तत्काल समाधानका उपायहरू अपनाउने नगर प्रमुख अर्यालले जानकारी दिनुभयो । आवश्यक सहयोगको लागि जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारलाई समेत विवरण पठाइने छ ।

कार्यदलमा उपप्रमुख भगवती नेपाल, ६ नं वडाध्यक्ष जितराज थापा ,३ का अध्यक्ष वसन्त गुरुङ, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङ रहनुभएको छ । कार्यदलले १५ दिन भित्र प्रतिवेदन पेस गर्ने भवन तथा बिपद व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर जित बहादुर कार्कीले बताउनु भएको छ ।

अमलेबस्तीका १५ घर सार्नुपर्ने प्रतिवेदन

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४, अमलेबस्ती खनाल गाउँका १५ घर पहिरोको जोखिममा परेपछि अध्ययन गर्न गएको टोलीले प्रतिवेदन पेस गरेको छ । १५ मध्ये ५ घर तत्काल स्थानान्तरण गर्नुपर्ने र बाँकीलाई पनि सार्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय चौताराका कार्यालय प्रमुख दिवाकर मास्केको नेतृत्वमा अध्ययनको लागि स्थलगत रूपमा खटिएको टोलीले बिहीबार प्रतिवेदन पेस गरेको हो । प्रतिवेदनमा स्थानीय रामप्रसाद न्यौपाने र माधवराज खनालको घर पहिरोले पुरिसकेकोले उनीहरू अन्यत्र बसिरहेको उल्लेख छ । सोही टोलका लेखतबहादुर खनाल, कृष्णबहादुर खनाल र लुमडीप्रसाद न्यौपानेको घर भने चर्किएर बस्न नमिल्ने भएको छ । उनीहरू भने दिउसो सोही घरमा बस्ने गरेको र राती मात्रै अन्यत्र सुत्न जाने गरेको प्रतिवेदनमा उल्लेख छ । बाँकी १० घर पनि पहिरोको उच्च जोखिममा छ ।

प्रतिवेदन अनुसार सो स्थानमा गाउँको बिच भागबाट २०७३ सालमा नै सडक खनिएको थियो । सडक खनेपनि नाली नखन्दा वर्षाको पानीले निकास नपाउँदा करिब १ किलोमिटर क्षेत्रमा १५ भन्दा बढी पहिरो झरेको छ । भिरालो जमिनमा बस्ती बसालिएको र बलौटे माटो भएको कारण पहिरोको जोखिम ज्यादा देखिएको अनुगमन समितिका संयोजक दिवाकर मास्केले बताए । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गर्दा यस्तो जोखिम आएको समितिको निष्कर्ष छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button