तपाईँ सुन्दै हुनुहुन्छः

बलेफीका २५ घर सुरक्षित स्थानमा स्थानान्तरण

सिन्धुपाल्चोक । पहिरोको उच्च जोखिममा परेपछि बलेफी गाउँपालिकाले २५ घर परिवारलाई सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको छ । बलेफी गाउँपालिका १ स्थित खमारेका २५ घर परिवार पहिरोको जोखिममा परेपछि उनीहरूलाई गाउँपालिकाले तत्काल सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको हो ।

गाउँपालिकाले जग्गा भाडामा लिएर पहिरोको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण गरेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बताउनुभयो । गाउँपालिकाका तर्फबाट प्रति परिवार ३ बन्डल जस्तापाता, ग्याँससहितको सिलिन्डर, अस्थायी शौचालय, खानेपानी लगायतको प्रबन्ध मिलाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट त्रिपाल, कम्बल लगायतका सामाग्री आएको र बिद्युतीकरणमा बिद्युत् प्राधिकरणले सहयोग गरेको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो । वडाका २५ घर धुरीका नागरिक पहिरोको जोखिममा परेपछि वडाध्यक्ष मधु थापाले उनीहरूको स्थानान्तरणका लागी पहलकदमी लिएका थिए ।

त्यस्तै पहिरोले सुनकोसी गाउँपालिका–६ मा दर्जनौँ घरहरू जोखिममा परेपछि पहिरोको निरीक्षण र स्थानीयको अवस्था बुझ्न बागमती प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति सुरेश नेपाल सुन्दर डाँडा पुग्नुभएको छ । जोखिममा परेका स्थानीयलाई भेट्न र तत्कालीन राहत तथा उनीहरूको जिउधनको रक्षाका लागी पहल गर्न सांसद नेपाल बिहीबार पहिरो स्थलमा पुग्नुभएको हो ।

पहिरो निरन्तर खसिरहेको र घरबार जोखिममा परेको भन्दै स्थानीयले तत्काल आफूहरूलाई सुरक्षित स्थानमा लगिदिन प्रदेश सांसद नेपालसँग आग्रह गरेका छन् । गत साल पनि पहिरो आएको र आफूहरू अन्यत्र जान नसक्ने अवस्थाका कारण पेलेरै बसेको भन्दै यस पटक भने गाउँमा बस्नै नसकिने अवस्था निम्तिएको स्थानीयले सुनाए । तत्कालका लागी आफूहरूलाई अस्थायी वासस्थान व्यवस्था गरिदिन उनीहरूले आग्रह गरेका हुन् । सुन्दर डाँडा, धुसेनी र पाखरदोभानका स्थानीयलाई तत्काल सुरक्षित स्थानमा अस्थायी वासस्थानको व्यवस्था गरिने सांसद नेपालले वचन दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button