कोरोनाको जोखिम छल्दै बाल शल्यक्रिया

दोलखा । सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालले कोरोना सङ्क्रमणको जोखिम छल्दै एकै दिन तीन वटासम्म बाल शल्यक्रिया गरेको छ । देशभरीनै थोरै ठाउँमा मात्र बाल शल्यक्रिया हुने गरेको अवस्थामा कोरोना सङ्क्रमणको जोखिमकै समय पनि प्रस्तावित चरिकोट अस्पतालले न्याय हेल्थ नेपालको सहयोगमा थुप्रै बाल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको स्वास्थ्य सेवा निर्देशक डा. विनोद दंगालले बताए ।
अस्पतालले एकै दिन दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर २ का १७ वर्षीय कपिल खड्काको हर्नियाँ, भीमेश्वर नगरपालिका वडा नम्बर २ का १४ वर्षीय कुशल थामीको हाइड्रोशील र भीमेश्वर नगरपालिका वडा नम्बर २ कै ६ वर्षीय अलिश श्रेष्ठको हर्नियाँको शल्यक्रिया गरेको डा. दंगालले बताए ।
अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर दंगालले हेल्थ पार्टनरसिप नेपालमा संलग्न टिमको सहयोग तथा बेलायती सरकारको च्यारिटीमा सन् २०१७ मा लन्डनमा गएर बाल शल्यक्रियाको विषयमा विशेष तालिम लिएको अस्पतालले जनाएको छ । डा. दंगाललाई तालिम दिने टिमले प्रस्तावित चरिकोट अस्पतालमा आएर पनि विशेष थप तालिम दिएको अस्पतालले जनाएको छ ।
२०७२ सालबाट न्याय हेल्थ नेपालको सहयोगमा सञ्चालन भई रहेको प्रस्तावित चरिकोट अस्पतालले त्यति बेलै देखि बालकमा देखिने हर्नियाँ, हाइड्रोशील, फैमोसिस, नझरेको अण्डाशय, हाडजोर्नि आदी समस्याको शल्यक्रियाको माध्यमबाट समाधान गरिँदै आएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. दंगालले बताए ।
अस्पतालमा २०७२ सालबाट अहिलेसम्म एक हजार भन्दा बढी बाल शल्यक्रिया गरिएको डा. दंगालको भनाई छ । हाडजोर्निको अप्रेसनमा अर्थोपेडिक डाक्टर मन्जित पाठकको समेत संलग्नता रहने डा. दंगालले बताउनु भयो ।
प्रस्तावित चरिकोट अस्पतालले लक डाउनको अवधिमा पनि डा. रिना लामिछाने, डा. तुलाकृष्ण गुप्ता लगायतको सक्रियतामा पाँच सय सुत्केरीको सेवा, एक सय ७५ वटा शल्यक्रिया र १५ हजार ओपिडि जाँच गरेको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. विनोद दंगालले बताए ।








प्रतिक्रिया राख्नुहोस्