तपाईँ सुन्दै हुनुहुन्छः

गाउँघरमा पाइने जडीबुटीको प्रयोगबारे सचेतना

मोरङ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण हाल मानिसहरूलाई अस्पतालसम्म पुगेर उपचार गर्न कठिन भएको छ ।

यस्तो विषम परिस्थितिलाई मध्यनजरमा राखेर सामाजिक अभियान नेपालले “घरायसी जडीबुटीलाई प्रयोग गरौँ, आफू, परिवार र समाजलाई स्वस्थ्य राखौँ” भन्ने उद्देश्यले गाउँघरमा पाइने जडीबुटीको प्रयोग बारे सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम गाउँघरमा पाइने भृङ्गराज, बकाइनुको जरा, घोडताप्रे, तुलसी पानी, मेथी, सिमालीको पात, लौकाको जुस, बेसार, गुर्जो, मरीच, इलाइची, पिपला, जाइदानलगायतका ५२ वटा जडीबुटीको फाइदा र तीनको प्रयोग विधिबारे स्थानीयलाई जानकारी गराइएको सामाजिक अभियान नेपालका अध्यक्ष चन्द्र घिमिरेले बताउनुभयो ।

उहाँले बिरामी परेको खण्डमा अहिलेको अवस्थामा अस्पताल जान सक्ने स्थिति नभएको कारण सचेत र जिम्मेवार नागरिकको समूहले यस्तो सचेतना अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

गाउँघरमा धेरै जडीबुटी हुँदाहुँदै पनि गाउँलेहरूले यस्ता जडीबुटीको पहिचान, सही प्रयोग र फाइदाबारे जनाकारी नपाउँदा भरपुर लाभ लिन नसकेको अवस्थामा यस्तो अभियान हरेक गाउँघरमा आवश्यक रहेको उहाँले बताउनुभयो ।

सामाजिक अभियान नेपालका सदस्य हरि ढुङ्गानाले मोरङको रतुवामाई–५ मा स्थानीयलाई गाउँघरमा पाइने जडीबुटीको नाम, रोग, प्रयोग गर्ने विधि र तिनको लाभबारे जनचेतना जगाउने कार्य भइरहेको र अहिलेको विषम परिस्थितिमा यो आवश्यक पनि रहेको बताउनुभयो ।

कार्यक्रममा जडीबुटी सम्बन्धी जानकार तिलकबहादुर बस्नेत, जीतबहादुर कटुवाल, तुलसी पोखरेल र श्रीप्रसाद आचार्यलगायतले जडीबुटी र त्यसको प्रयोगबारे जानकारी दिनु भएको थियो ।

कार्यक्रमका अवसरमा स्थानीय नेत्रप्रसाद भट्टराईले २५ वटा कागतीको बिरुवा निःशुल्क वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button