वर्षाका कारण तरकारी र फलफूलको मूल्यमा वृद्धि

काठमाडौं । कोरोना सङ्क्रमणका कारण देशका विभिन्न भागमा निषेधाज्ञा जारी भएसँगै धेरै क्षेत्र प्रभावित बनिरहेका छन् ।
काठमाडौं उपत्यकामा तरकारी तथा फलफूल आपूर्तिको अवस्था सामान्य रहेको बताइए पनि मूल्यवृद्धि भने आकासिएको छ । तर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले वर्षाका कारण तरकारी र फलफूलको मूल्य केही बढेको जनाएको छ ।
उपत्यकामा निषेधाज्ञा भए पनि तरकारी, फलफूल लगायत कृषि उपजहरू सहज रूपमा उपत्यका भित्रिरहेका छन् ।
कृषि उपजहरू आपूर्तिमा कुनै बन्देज नलगाइको कारण तरकारी तथा फलफूलको सहज आपूर्ति भइरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आपूर्ति सामान्य नै छ अहिले त्यस्तो अवरोधको अवस्था छैन, सामान्य अवस्थामा चलिरहेको छ र निषेधाज्ञा भए पनि तरकारी फलफूल र खाद्यान्नलाई रोक लगाइएको छैन ।”
दैनिक पाँच सय टनको हाराहारीमा कालीमाटीको थोक बजारमा तरकारी तथा फलफूल भित्रिइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
कालीमाटी तरकारी बजार रातीदेखि बिहान ८ः०० बजेसम्म खुला रहने गरेको छ भने दिउँसोको समयमा उपत्यकामा आवतजावत बन्द हुने हुँदा तरकारी बजार समेत बन्द गरिएको छ ।
उपत्यकामा अन्य समयमा जस्तै अहिले पनि तरकारी तथा फलफूलको आपूर्ति तथा बिक्री वितरण सहज रूपमा भइरहेको भन्दै कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बर्षातको समयमा तरकारीको उत्पादन नै कम हुने भएकाले सामान्यतया अन्य समयको तुलनामा तरकारी केही मंहगो भएको बताउनुहुन्छ ।
उहाँले बर्षातको कारणले गर्दा उत्पादन कम हुने र भएकाको उत्पादनको क्षमता पातलिँदै जाने तथा अन्य वैकल्पिक बजारहरू र विशेष गरी भारतबाट पनि सामानहरू कम आउने कारणले मागको तुलनामा आपूर्ति कम हुने हुँदा त्यसको असर मूल्यमा नै पर्ने बताउनुभयो । जसका कारण वर्षाको समयमा तरकारीको मूल्य केही बढ्ने प्रकृति नै भएको स्पष्ट समेत पार्नुभयो ।
“आलु, प्याज, कागती तथा फलफूल ठुलो मात्रामा एकै पटक आउँछ जसले गर्दा भारतबाट धेरै आए जस्तो देखिए पनि त्यो भने सम्पूर्ण तरकारी तथा फलफूल आयातको २० देखि २५ प्रतिशत मात्रै हो, ताजा तरकारी स्थानीय उत्पादनै आउँछ ।”
हाल उपत्यकामा भारतबाट सरदर २० देखि २५ प्रतिशत मात्रै तरकारी तथा फलफूल आयात भइरहेको र त्यसमा विशेष गरी आलु, प्याज, कागती तथा फलफूल रहेको र अन्य ताजा तरकारी नेपाल कै विभिन्न जिल्लाबाट आपूर्ति भइरहेको विकास समितिले जनाएको छ ।
समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार “आलु, प्याज, कागती तथा फलफूल ठुलो मात्रामा एकै पटक आउँछ जसले गर्दा भारतबाट धेरै आए जस्तो देखिए पनि त्यो भने सम्पूर्ण तरकारी तथा फलफूल आयातको २० देखि २५ प्रतिशत मात्रै हो, ताजा तरकारी स्थानीय उत्पादनै आउँछ ।” उपत्यका तथा उपत्यका आसपासका जिल्लाहरू धादिङ, मकवानपुर, चितवनलगायतका जिल्लामा उत्पादित ताजा तरकारी कालीमाटी थोक बजारमा धेरै आउने गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
तराकारी तथा फलफूल अतिआवश्यकीय बस्तु भएकाले निषेधाज्ञाको समयमा पनि त्यसलाई सुरक्षित रूपमा बजारसम्म ल्याउने र त्यहाँबाट सहजरुपमा उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाइएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्