तपाईँ सुन्दै हुनुहुन्छः

माइती नेपालद्वारा करीब १४ हजार जनालाई पौष्टिक खाना वितरण

कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थानीय तहमा माइती नेपाल कञ्चनपुरले विपन्न परिवारका करीब १४ हजार जनालाई पौष्टिक खाना वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि करीब चार महिनासम्म गरिएको बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न परिवारका महिला तथा बालबालिकाहरुका लागि गत असार १६ गतेदेखि भदौ ११ गते बिहिबारसम्म सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण अभियान सञ्चालन गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो ।

दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवार लामो समयसम्म भएको बन्दाबन्दीका कारण समस्यामा परेको भन्दै सम्बन्धित स्थानीय तहसंगको सहकार्य तथा युएन वुमनको आर्थिक सहयोगमा माइती नेपालले उक्त अभियान सञ्चालन गरेको संयोजक भट्टको भनाइ छ ।

करीब दुई महिना लामो उक्त अभियानको समापनका क्रममा सम्बोधन गर्दै भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहले पोषण युक्त खानाको अभावमा धेरै रोगहरुले च्याप्ने सम्भावना हुने भएकोले सरकारको मात्रै मुख नताकी आआफ्नौ खेतबारीमा हरियो तरकारी, सागपात, अन्न, गेडागुडी, फलफूल र घरमै अण्डा उत्पादन गर्न तर्फ सबैले लाग्नु पर्ने सुझाव दिनुभयो ।

अधिकांश विपन्न परिवारलाई दैनिकी निर्वाह गर्नै अप्ठ्यारो परेको परिस्थितिमा माइती नेपालले सञ्चालन गरेको सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण कार्यक्रमले समुदायमा पोषण सम्बन्धी जनचेतना प्रवाह भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button