तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको कोरोना अस्पतालमा दुुई जना कोरोना सङ्क्रमितको मृत्यु

फाइल तस्बिर

रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका– २, जानकी नगरका ७० वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको १२ घण्टा बित्न नपाउँदै आज ती महिलाको मृत्यु भएको छ ।

गत साउन २६ गते कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा राखिएको र स्वास्थ्यमा समस्या देखिँदै गएपछि साउन ३१ गते कोरोना अस्पतालमा भर्ना गरिएको ती महिलामा थाइराइड र उच्च रक्तचाप समस्या थियो ।

उनलाई कोरोना विशेष अस्पतालको पहिलो प्लाज्मा थेरापीका माध्यमबाट चिकित्सकले उपचार थालेका थिए ।

अर्का मृतक कपिलवस्तुको कपिलवस्तु नगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारका क्रममै सोही अस्पतालमा मृत्यु भएको थियो ।
उनलाई पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगको समस्या रहेको थियो ।

उनको राति स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार थालिए पनि राति नै मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button