बीरगंजमा बारा, पर्सा, रौतहटका ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा आज स्वास्थ्यकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरी हिरासतमा रहेका थुनुवासहित बारा, पर्सा, रौतहटका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा पाँच सय १० वटा नमुना परिक्षण गर्दा बारा, पर्सा, रौतहटका ३३ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसीयाले जानकारी दिनुभयो ।
सङ्क्रमित हुनेहरूमा १२ वर्षदेखि ७० वर्ष उमेर समूहका पर्साका २४ जना, बाराका छ जना र रौतहटका तीन जना रहेका छन् । जसमध्ये नारायणी अस्पतालको क्वाटरमा बसेका दुई जना स्वास्थ्यकर्मी र एक जना १२ बषीय बालकमा समेत संक्रमण पुष्टि भएको छ ।
त्यसै गरी, सशस्त्र प्रहरी पर्सा वीरगंजका दुई जना सुरक्षाकर्मी पनि सङ्क्रमित भएको नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ ।
त्यस्तै , बाराको जितपुरमा रहेको नेपाली सेनाको प्रदेश नम्बर २ को ब्यारेकमा रहेका एक जना सैनिक जवान, रौतहटको प्रहरी हिरासतमा रहेका तीन जना थुनुवामा समेत कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको प्रयोगशालाकी प्रमुख डा.निरा पाठकले जानकारी दिनुभयो । सङ्क्रमित हुने मध्ये चार महिला र २९ पुरुष रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्