कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण आज थप ११ जनाको मृत्यु भएको छ ।
संक्रमणबाट आज ९ जना पुरुष र २ महिलाको मृत्यृ भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज महोत्तरीमा ३ पुरुष, कैलाली र बारामा २–२ जना पुरुष, बाँके र काठमाडौमा १–१ जना पुरुष र मोरङ र भक्तपुरमा १–१ जना महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २ सय ५३ जनामा परीक्षण गर्दा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ३४ हजार ४ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।
आज थप ३ सय ८५ जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमण पछि निको हुनेको कुल संख्या १९ हजार ५ सय ४ जना अर्थात ५६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।
यसैगरी आज देशभर संक्रिय संक्रमितहरुको संख्या १४ हजार ७ सय ३९ रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ९ हजार ८ सय ३२ जना रहेका छन् ।
यस्तै संक्रमितहरुमध्ये १ सय ५१ जनाको आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैगरी मन्त्रालयले संक्रमितहरुलाई १४ दिन भन्दा बढि अस्पतालमा नराख्न सम्पुर्ण कोभिड अस्पतालहरुलाई निर्देशन गरेकोे छ ।
मन्त्रालयले कोभिड बिरामीहरुको १० दिन मा रियलटाइम पिसिआर परीक्षण गरी १४ दिन पछि डिस्चार्ज दिन जानकारी गराएको हो ।








प्रतिक्रिया राख्नुहोस्