तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा २०९ कर्मचारी कोरोना सङ्क्रमित

बाँके । बाँकेमा हालसम्म ३८ जना स्वास्थ्यकर्मी र १७१ जना सरकारी कर्मचारीमा गरी २०९ पेसाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । कोरोना महामारी सुरु भएको समयदेखि हालसम्म विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूको पिसिआर परीक्षणबाट ३८ जना स्वास्थ्यकर्मी र १७१ जना सरकारी कर्मचारी गरी २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले हालसम्म कोरोनाविरुद्धको युद्धमा ३८ जना स्वास्थ्यकर्मी, ९६ जना सुरक्षाकर्मी र ३७ जना राष्ट्रसेवक कर्मचारीमा सङ्क्रमित भएको जानकारी दिनुभयो ।

बाँकेमा सङ्क्रमित हुनेहरूमा चिकित्सक ७, स्टाफ नर्स १७, ल्याबकर्मी १, पारामेडिक्स ६ र हेल्पर ७ गरी ३८ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन । यसै गरी प्रहरी ५१, सशस्त्र प्रहरी १५, नेपाली सेना ३०, कैदी बन्दी १०, थुनुवा २, नेपालगन्ज उपमहानगरका जनप्रतिनिधि र कर्मचारी २२, राप्तीसोनारी जनप्रतिनिधि १, आन्तरिक राजस्व कार्यालयका ११, जिल्ला अदालत ५, यातायात १, अख्तियार १, नेपाल राष्ट्रिय वाणिज्य बैङ्क १८, भन्सार कार्यालय २ नेपालगन्ज मेडिकल कलेज प्रशासनिक कर्मचारी २ गरी १७१ जना सङ्क्रमित भएका छन् ।

संक्रमण देखिएका कर्मचारीहरूमा कार्यालय प्रमुखदेखि सात जना डाक्टरहरू समेत छन् । नेपालमा गत चैत्र ११ देखि सुरु भएको महामारीको नियन्त्रण प्रयास हालसम्म पनि जारी छ । यो अवधिमा स्वयं कोरोना नियन्त्रण तथा रोकथाम गर्न अग्र पङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरूलाई समेत सङ्क्रमणले आक्रमण गरेको छ । मङ्गलवार साँझसम्म जिल्लामा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय ६० जना डिस्चार्ज भई घर फर्किदा ५ जनाले ज्यान गुमाउनु परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button