स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै

सुर्खेत । कर्णालीका स्थानीय तहहरुमा अराजक ढंगले भ्रष्टाचार मौलाउँदै गएको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत कार्यालयमा गत आर्थिक वर्ष २०७६/७७ मा कुल १ हजार ८० मध्ये ५५४ स्थानीय तह विरुद्ध भ्रष्टाचारका उजुरी दर्ता भएका छन् ।
कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले घुस लिने–दिने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने, सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने, सार्वजनिक निर्माण वा खरिदमा अनियमितता गर्ने, झुटा विवरण पेस गर्ने, गलत लिखत वा प्रतिवेदन दिने, कागजात सच्याउने वा नोक्सान गर्ने, परीक्षाको परिणाम फेरबदल गर्ने वा गोपनीयता भंग गर्ने, गैरकानुनी सम्पत्ति आर्जन गर्ने, राजस्व चुहावट गर्नेजस्ता भ्रष्टाचार प्रवृत्तिका उजुरी अधिक रहेको बताउनु भयो ।
उहाँले प्रदेशका १० वटै जिल्लाका स्थानीय तहविरुद्ध ५५४ उजुरी परेकोमा ३१८ फछ्र्योट भएको र २३६ उजुरीउपर अनुसन्धान भइरहेको जानकारी दिनु भयो । उहाँका अनुसार संघ अन्तर्गतका मन्त्रालयहरु विरुद्ध ३१६ उजुरी परेका छन् । त्यस्तै प्रदेश मन्त्रालय अन्तर्गत सबैभन्दा धेरै १२६ उजुरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयविरुद्ध परेका छन् । सबै भन्दा कम एउटा मात्र उजुरी आन्तरिक मामिला तथा कानून मन्त्रालयविरुद्ध परेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय विरुद्ध २९, सामाजिक विकास मन्त्रालय विरुद्ध ३४ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विरुद्ध २० वटा उजुरी परेका छन् । आर्थिक अनियमितता एवं भ्रष्टचारले स्थानीय तहलाई गाँज्न थालेपछि सुशासन एवं समृद्धिका लागि बाधक बन्दै गईरहेको सरोकारवालाको भनाइ छ । अख्तियार सुर्खेतले गत वर्षमा दर्ता उजुरी मध्ये ६१३ फछ्र्याेट भएको र ४६७ उजुरीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्