कोरोना सङ्क्रमितको उपचारमा कुनै कमी नगर्न आग्रह

जनकपुरधाम । प्रदेश नं. २ कोरोना महामारीको उच्च जोखिम तथा सबैभन्दा बढी प्रभावित क्षेत्र रहेकोले बिरामीको उपचारमा कमी कमजोरी नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
महामारी रोकथाम तथ नियन्त्रणमा समन्वय गर्न स्थानीय युवाहरूले सञ्चालन गरेको स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोन्स टिमले प्रादेशिक अस्पतालका चिकित्सकहरूलाई आज भेटेर उपचारमा कुनै प्रकारको लापरबाही नगर्नका लागि आग्रह गरेको छ ।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादव, कोभिड अस्पतालका संयोजक डा.जामुनप्रसाद सिंह र रेडक्रस धनुषाका सभापति नरेशप्रसाद सिंहलाई भेटेर एम्बुलेन्स तथा रगतको अभाव हुन नदिनका लागि पनि आग्रह गरेको छ ।
कोरोना महामारीविरुद्धको यस लडाइमा प्रदेश सरकारको कामकाज प्रभावकारी नभएको र सुस्त रहेकाले सरकारी संयन्त्रले काम कारबाहीलाई गतिलो, उपयोगी र पारदर्शी बनाउनका लागि आग्रह गरेको छ ।
यस अघि मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवकिशोर साहसँग समेत भेटघाट गरी पीसीआर परीक्षणको दायरा बढाउन, क्वारेनटाइन आइसोलेसनको सङ्ख्या वृद्धि गर्न, प्रादेशिक अस्पताल जनकपुरको बेथितिलाई सुधार गर्न, छुट्टै कोभिड अस्पताल व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण गरेको छ ।
यसै गरी अस्पतालहरूमा आइसियु र भेन्टिलेटर थप्न, डाइलासिस हुन नपाएर मृत्यु भएका प्रमोद महतोको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्नलगायतका मागहरू राख्दै ध्यानाकर्षण गरिसकेको छ ।
मनोज साहको नेतृत्वमा पुगेको टिमले ध्यानाकर्षण गर्दै यस्तो वेलामा चिकित्सकहरूको दायित्व अझै महत्त्वपूर्ण भएको बताउँदै चिकित्सकहरूको सेवा भावको उच्च सम्मान गरेको पनि जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्