तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा थप २ जनाको मृत्यु

वीरगञ्ज । नारायणी अस्पताल र अस्थायी कोभिड गण्डक अस्पतालमा गरी वीरगञ्जमा थप २ जना को मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारको क्रममा पर्साको सुपौली घर भएका ६८ वर्षीय पुरुषको गएराति १० बजे मृत्यु भएको हो । उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट भने आउन बाकी रहेको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

मुटुसम्बन्धी समस्याका कारण वीरगञ्जको तराई अस्पतालमा उपचारका लागि पुगेका ६८ वर्षीय पुरुषलाई राति साँढे ९ बजे गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

तराई अस्पतालका चिकित्सक डा. रोशन कुर्मीका अनुसार गम्भीर अवस्थामा अस्पताल ल्याइएका उनलाई इमर्जेन्सी कक्षमा भर्ना गरेर उपचार शुरु गरिएको थियो ।

एक्स–रे गरेर हेर्दा दुईवटै फोक्सोमा निमोनिया देखिएको थियो । अक्सिजन दिँदा पनि अक्सिजन लेभलमा सुधार नआएको र अस्पतालमा बेड खाली नभएका कारण समन्वय गरेर कोभिड अस्पतालमा रिफर गरिएको तराई अस्पतालले जनाएको छ ।

त्यसैगरी नारायणी अस्पताल वीरगञ्जमा आईतबार एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार कोरोना संक्रमण पुष्टि भएकी पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही ७० वर्षीया वृद्धाको हिजो मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

क्षयरोग भएकी वृद्धाको स्वास प्रश्वासमा समस्या आएपछि भदौ ६ गते परिवारले नारायणी अस्पतालमा भर्ना गरेका थिए । महिलाको भदौ ६ गते नै स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वीरगञ्जका अस्थायी कोभिड अस्पताल गण्डक र वीरगञ्ज हेल्थ केयरमा बेड खाली नभएका कारण उनलाई नारायणी अस्पतालकै आईसीयूमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button