तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा सरुवा भएर आएका प्रहरीमा कोरोना सङ्क्रमण

ओखलढुङ्गा । ओखलढुङ्गामा सरुवा भएर आएका प्रहरीमा कोरोना संक्रमण देखिन थालेको छ । बाहिरी जिल्लाबाट रमाना लिएर आएका प्रहरी र उनीहरूका परिवारमा केही दिन यता लगातार कोरोना संक्रमण पुष्टि भएको हो ।

आज दुई जना प्रहरीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । पछिल्लो पटक जिल्लाका ६० जनाको स्वाब परीक्षण गरिएकोमा दुई जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

पछिल्लो पटक जिल्लाबाट सुरक्षाकर्मी, कर्मचारी, विभिन्न देशबाट आएर होल्डिङ सेन्टरमा रहेकाहरूको स्वाब परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएका प्रहरी खोटाङ र उदयपुरबाट आएका थिए । उनीहरू मानेभञ्ज्याङ प्रहरी चौकीमा सरुवा भएर आएका थिए ।क्वारेनटाइनमा रहेका उनीहरूमा कोरोना देखिएपछि कोभिड अस्पताल रुम्जाटार लैजाने तयारी गरिएको छ ।

यसअघि जिल्ला सदरमुकाममा सरुवा भएर आएका एक जना प्रहरीमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै रौतहटबाट खिजीफलाटे इलाका प्रहरी कार्यालयमा सरुवा भएर आएका एक प्रहरीकी १५ बर्सिया छोरीमा कोरोना संक्रमण देखिएको थियो । उनीहरूलाई रुम्जाटारको आइसोलेसनमा राखिएको छ ।पछिल्लो समय कर्मचारी तथा सुरक्षाकर्मीको सरुवा बढुवाका कारण जिल्लामा कोरोनाको जोखिम बढेको छ ।

यसैबिच ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले सरुवा भएर नयाँ कर्मचारी नआउन आग्रह गर्नुभएको छ । तत्कालको अवस्थामा सरुवा भएर रमाना बुझे पनि साबिकको कार्यालयमै रहन उहाँले आग्रह गर्नुभएको हो ।

सरुवा भएर आएका कर्मचारीहरूमा कोरोना देखिन थालेकाले त्यस्ता सबै नयाँ रमाना बोकेर आएका कर्मचारीलाई क्वारेनटाइनमा राख्ने गरिएको प्रजिअ पौडेलको भनाई छ ।

बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिए पनि समुदाय स्तरमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको जिल्ला कमाण्डपोष्ट ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button