तपाईँ सुन्दै हुनुहुन्छः

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु

फाइल तस्बिर

भक्तपुर । भक्तपुरको दुधपाटीमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराउन आएका एक जना पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

दुवै मिर्गौला फेल भएपछि प्रत्यारोपण गर्न डायलाइसिस गराउँदै आएका रुपन्देहीको बुटवलका एक जना ५२ वर्षीय पुरुषको ज्यान गएको केन्द्रका प्रमुख डा.प्रेम ज्ञवालीले जानकारी दिनुभयो ।

डा ज्ञवालीका अनुसार प्रत्यारोपण केन्द्रमा पुगेका उनको डायलाइसिस नै गर्न नपाइ मृत्यु भएको हो । उनी आफन्तसहित हिजो दिउँसो अस्पताल पुगेका थिए । यसअघि नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शव दाह गृहमा दाहसंस्कार गरेको छ ।

यसैबिच अस्पताल भक्तपुरमा उपचारको क्रममा एक पुरुषको निधन भएको छ । पाँचथर मिग्लाजुङग गाउँपालिका १ घर भई हाल चाँगुनारायण नगरपालिका ९ बस्ने वर्ष ४७ को नरेन्द्र राईको उपचारका क्रममा मृत्यु भएको हो ।

तर उनको स्वाब परिक्षण गर्दा पीसीआ नेगेटिभ आएकाले शव आफन्तले बुझेर लगेको वीर दल गण सुर्यबिनायकका प्रमुख शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो समय भक्तपुर जिल्ला पनि कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढ्दै गएको छ । यसअघि उपत्यकाका अन्य दुई जिल्ला काठमाडौँ र ललितपुरमा सङ्क्रमितको सङ्ख्या निकै उच्च भए पनि भक्तपुरमा सङ्क्रमणको दर सामान्य रहँदै आएको थियो । तर पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।

भक्तपुरमा पनि समुदाय स्तरमै संक्रमण फैलिसकेको निष्कर्ष स्वास्थ्य कार्यालयको छ ।

भक्तपुरमा गएको वैशाख ३० गते पहिलो पटक दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ती दुवै जिल्ला बाहिरका बासिन्दा थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button