तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा आजदेखि निषेधाज्ञा जारी

बैतडी । बैतडीमा आजदेखि निषेधाज्ञा सुरु हुने भएको छ । आज राती १२ बजेदेखि भदौ १४ गते राती १२ बजेसम्म लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र गौरा पर्व पनि सुरु भएकाले भिडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको उहाँले बताउनुभयो ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा अत्यावश्यक सेवा तथा वस्तु बाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने उल्लेख गरिएको छ ।

यस्तै अत्यावश्यक काम बाहेक कसैले बाहिर हिँडडुल गर्न पाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्य रूपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइनेछ ।

यसै गरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक जिल्लामा अन्य सवारी साधन प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।

यस्तै सरकारी कार्यालयहरूमा पनि न्यूनतम कर्मचारीको उपस्थितिमा सार्वजनिक सेवा प्रवाह गर्ने, अत्यावश्यक भनी तोकिएका बाहेक अन्य सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।

यस्तै निषेधाज्ञा जारी गरिएको अवधिमा सबै प्रकारका मेला, जात्रा, सभा, जुलुस, खेलकुद लगायत भिडभाड हुने खालका सबै कार्यक्रममा रोक लगाइएको छ । परम्परागत रूपमा नित्य पूजा बाहेक भिडभाड हुने किसिमले मनाइने चाडपर्वमा रोक लगाइएको आदेशमा उल्लेख छ ।

यस्तै निषेधाज्ञा जारी गरिएको अवस्थामा होटेल तथा रेष्टुँराहरु सञ्चालन गर्न नदिइने पनि आदेशमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश विपरीत कसैले कार्य गरेमा कानुन अनुसार कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारीले नेगीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button