कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १४९ पुग्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण आज थप ३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले झापाका ५८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीय महिला र सर्लाहीका ३३ वर्षीय महिला गरी ३ जनाको मृत्यु भएको जनाकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ८ हजार २६ जनामा गरिएको परिक्षणमा ८ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा २ सय २० जना महिला र ५ सय ९८ जना पुरुष रहेका छन् ।
यो संगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको सख्या ३१ हजार ९ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै आज काठमाडौँमा १ सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना गरी उपत्यकामा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, गत २४ घण्टामा थप २ सय ८१ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणपछि निको हुनेको कुल संख्या १८ हजार ६ सय ३१ सय पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार उपचारपछि निको भई घर फर्कनेको संख्या ५८ प्रतिशत रहेको छ । यस्तै सक्रिय संक्रमितहरुमध्ये १ सय ३७ जनाको आइसियुमा र १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले लक्षण नदेखिएका बिरामीलाई घरमै बस्न र घरमा बस्न छुट्टै कोठा नभएको अवस्थामा आइसुलेशन सेन्टरमा राखिने र लक्षण भएका बिरामीलाई मात्रै अस्पतालमा राखेर उपचार गरिने जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा गौतमले कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्र्मीहरुलाई दुरव्यवहार गर्नेमाथि संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारवाही गरिने पनि जानकारी दिनुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले विश्वमा क्लिनिकल ट्रयालका रुपमा रहेको कोरोना भाइरसविरुद्धको विभिन्न खोपमा नेपालमा अध्ययन अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेृतत्व लिएको जानकारी दिनुभयो ।
सदस्य सचिव ज्ञवालीले कोरोना भाइरसविरुद्ध चीन, रसिया र अक्फोर्ड विश्वविद्यालयले उत्पादन गरेको भ्याक्सिनहरु नेपालमा तेस्रो चरणमा परीक्षण गर्न लागिएको जानकारी दिनुभयो ।
विश्वमै क्लिनिकल ट्रायलको रुपमा अध्ययन अनुसन्धानको क्रममा रहेको रेम्डेसिविर औषधि बिरामीको पूर्व सहमती भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तयार पारेको रिसर्च प्रोटोकल अनुसार कोभिड अस्पतालहरुमा उपचार गराइरहेका बिरामीलाई चढाउन समेत अनुरोध गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्