तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवसायीको मनपरी

अछाम । अछाम जिल्लामा यातायात व्यवसायीहरुले मापदण्ड विपरीत भाडा असुल र यात्रु ओसारपसार गरिरहेका पाईएको छ ।

एक सय ८० भाडादर तोकिएको साँफेबगर–मंगलसैन ३५ किलोमिटर पक्की सडकखण्डको भाडा हाल यातायात व्यवसायीहरुले ४०० रुपैँया लिने गरेका छन् ।

साँफेबगर मंगलसैन सडक खण्ड कालोपत्रे भएको दशक बढी भैसक्दा समेत रुट परमिट नभएको भन्दै यातायात व्यवसायीले प्रति किलोमिटर १० रुपैँया बढी असुल गर्दै आईरहेका छन् ।

सरकारले लक डाउन पछि सामाजिक र भौतिक दूरी कायम गर्दै सिट क्षमताको आधा यात्रु राखेर ५० प्रतिशतसम्म थप भाडा लिन पाउने नियम लागू गरेपनि त्यो नियमको अछामका यातायात व्यवसायीले पालना नगरेको पाईएको हो ।

अछाम जिल्लामा चल्ने सार्वजनिक यातायात व्यवसायीहरुले सुरक्षा मापदण्ड बिना नै सामान्य अवस्था सरह यात्रु कोचाकोच गर्ने र झण्डै दोब्बर भाडा असुली गर्ने गरेका छन् ।

साफेबगरबाट बयालपाटा करिब ७ किलोमिटर पक्की सडकमा पहिले ५० रुपैँया तिर्ने गरेकोमा हाल भने १०० रुपैँया भाडा तिरेको बान्नीगढी जयगढ गाउँपालिका १ गाज्राका गजेन्द्र खड्काले बताउनुभयो । जिल्लाको मंगलसैन( विनायक, मंगलसैन–कमलबजार, मंगलसैन–ढकारी लगायतका सडक खण्डमा समेत यात्रु कोचाकोच र भाडादर पहिलेभन्दा दोब्बर लिने गरेको यात्रुहरुले बताएका छन् ।

अछामका प्रमुख जिल्ला अधिकारी गोर्कर्ण प्रसाद उपाध्यायले आफू अछाममा आएको एक हप्ताजति मात्रै भएको र यस विषयमा बुझेर नियमन गरिने बताउनुभयो । सबैले नियम अनुसार चल्नु पर्ने यदि नियम अनुसार नगरी मनपरी गरेको पाईएमा कारवाही गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button