तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा भदौ १४ सम्म लकडाउन


रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा थप एकहप्ताका लागि लकडाउन गरेको छ । जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्रको आइतबार बसेको बैठकले हाल जारी लकडाउनलाई एक हप्ता बढाउने निर्णय गरेको प्रशासकीय अधिकृत जनक थापाले बताउनुभयो ।

अब जिल्लामा भदौ १४ गते राति १२ बजेसम्म लकडाउन हुनेछ । यसअघि भदौ २ गतेदेखि आज (भदौ ७) राति १२ बजेसम्मका लागि प्रशासनले लकडाउन गरेको थियो । रुपन्देहीमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएको छ ।

संक्रमित दिनहुँ बढ्दै जाँदा समुदायमा थप संक्रमण नफैलियोस् भनेर लकडाउन थप गरिएको थापाले जानकारी दिनुभयो । प्रशासनले खुल्ला स्थानमा मानिसहरुको भेला हुन, भीडभाड गर्न र सभा तथा जुलुस गर्न, अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधन संचालनमा रोक लगाएको छ ।

यस्तै, खाद्यान्न तथा फलफूल, तरकारीका पसलहरु निश्चित तोकिएको समयमा खोल्न दिने जनाएको छ । प्रशासनले निषेध गरेको क्रियाकलाप गरेमा संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम कारबाही हुने बताएको छ । कोरोना संक्रमित बढेको भन्दै जिल्लाका स्थानीय तहहरुले पनि प्रशासनलाई लकडाउन एक हप्ता थप गर्न सिफरिस गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button