तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा र बारामा थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

बीरगंज । पर्सा र बारामा थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणको क्रममा चिकित्सक, नेपाली सेना, नेपाल प्रहरी, सञ्चार गृहका कर्मचारीसहित पर्सा र बारामा थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा तीन सय २० वटा स्वाब नमुना परीक्षण गर्दा ३४ जना महिलासहित एक ५६ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा.निरज सिंहले जानकारी दिनुभयो ।

सङ्क्रमितहरू मध्ये एक सय ४५ जना पर्साको र ११ जना बाराका रहेका छन् । तीन वर्षदेखि ७० वर्ष उमेर समूहकालाई कोरोना संक्रमण पुष्टि भएको डा. सिंहले बताउनुभयो ।

सङ्क्रमित हुनेमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, भवानी अस्पताल र तराई अस्पतालका पाँच जना चिकित्सक, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र नेपाली सेनाको प्रदेश नम्बर २ स्थित जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको उहाँले बताउनुभयो ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको तथ्याङ्कमा पर्सामा तीन सय ८७ जना महिलासहित एक हजार सात सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

जसमा २२ जना भारतीय नागरिक, एक सय २० जना स्वास्थ्यकर्मी, ८६ सुरक्षाकर्मी, आठ जना पत्रकार, ८९ कैदी थुनुवा, ४८ जना अस्पताल सफाइकर्मी, गार्ड र कार्यालय सहयोगीसमेत सङ्क्रमित भएको बताइएको छ ।

त्यसै गरी सङ्क्रमित मध्ये ७४ जना महिलासहित तीन सय ५६ जना कोरोना मुक्त भई घर फर्किएको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

अहिले पर्सामा ३४ जना महिलासहित एक सय ४३ जना सङ्क्रमित आइसोलेसनमा र दुई सय चार जना महिलासहित छ सय १० जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पर्सा जिल्लामा हालसम्म १७ हजार पाँच सय एक जनाको स्वाब सङ्कलन गरिएको छ । शनिवार मात्रै दुई सय ३५ जनाको स्वाब सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पर्सामा हालसम्म कोरोना सङ्क्रमणको कारण २८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button