भन्सार छली ल्याएको ४० बोरा रासायनिक मल पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली ल्याएको ४० बोरा रासायनिक मल आज पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका अन्तर्गतका चार वटा सीमा नाकाको प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।

गस्ती तथा अनुगमनको क्रममा नौ वटा मोटरसाइकलबाट तस्करी गरी ल्याउन लागेको ४० बोरा रासायनिक मल पक्राउ गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो । पक्राउ गरिएको भारतीय रासायनिक मल मूल भन्सार कार्यालय वीरगन्ज पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।

अनुगमनमा बाराका प्रमुख जिल्ला अधिकारी पण्डित, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख कृष्ण प्रसाद पङ्गेनी, सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीत लगायतको उपस्थित रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्