तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा एक साता लकडाउन थप

सिन्धुपाल्चोक । छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने देखिएकाले सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ ।

आइतबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले भदौ १४ गते (एक साता)सम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो ।

यसअघि कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन गर्ने निर्णय गरिएको थियो ।

त्यसको समय सीमा आइतबार सकिँदै थियो तर कोरोना संक्रमण जोखिम अझै रहेको भन्दै जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ ।

जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको ढकालले बताउनुभयो ।

यस निर्णयसँगै कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।

होटेल तथा रेस्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, सैलुन, खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैङ्क र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ ।

हालसम्म जिल्लामा ८६ जनामा संक्रमण देखिएकामा ७४ जना निको भई घर फर्केका छन् , तीन जनाको मृत्यु भएको र नौ जना उपचाररत  छन् ।

लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गर्नुभएको छ ।

अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button