प्रहरी चौकी, अस्पतालसहित अछामका तीन क्षेत्र सिल

अछाम । सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित स्थानीयमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अछामका तीन क्षेत्र सिल (आवतजावत बन्द) गरिएको छ ।
शनिवारदेखि जिल्लाका इलाका प्रहरी कार्यालय साँफेबगर, वयालपाटा अस्पताल र मेल्लेख- ७ नन्देगडा पूर्णरूपमा सिल गरिएको हो ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालय सिल गरी शान्ति सुरक्षाको कार्य नजिकका अन्य प्रहरी चौकीबाट गर्ने गरी कार्यालय सिल गरिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
शुक्रवार अछाम जिल्लाका ३७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा इलाका प्रहरी कार्यालय साँफेबगरमा कार्यरत चार जना सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।
“प्रहरी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएकोले तत्काल स्वाब सङ्कलन गरी नतिजा नआउन्जेल उक्त कार्यालय सिल गरी नजिकैका चौकी र अन्य प्रहरी युनिटबाट सेवा दिन थालिएको छ” प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
यस्तै जिल्लाको वयालपाटा अस्पतालमा कार्यरत कर्मचारी र तिनका परिवार समेत गरी १९ जना र अस्पतालका तीन जना बिरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना नआउन्जेल सम्मका लागि अस्पताल र अस्पताल वरिपरिको बजार क्षेत्र पूर्ण रूपमा सिल गरिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले जानकारी दिनुभयो ।
यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर ७ स्थित नन्देगडामा समुदायस्तरमा कोरोना संक्रमण देखिएकोले भदौ ६ गतेदेखि १२ गतेसम्म वडा कार्यालय, नन्देगडा बजार, किराना पसल, होटेल, नास्ता पसल पूर्णरूपमा ‘सिल’ गरिएको र अत्यावश्यक काममा बाहेक स्थानीयलाई घरबाहिर ननिस्किन भनिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
कोरोनाका कारण हालसम्म तीन जनाको ज्यान गइसकेकाे अछाममा हाल सङ्क्रमितको सङ्ख्या सात सय ८५ पुगेको छ भने सात सय पाँच जना निको भई घर फर्किसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्