लिदी पहिरोका विस्थापितहरुलाई स्थानान्तरण कार्य सुरु
सिन्धुपाल्चोक । लिदी पहिरोका विस्थापितहरुलाई स्थानान्तरण कार्य थालिएको छ । जुगल गाउँपालिकाकै वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने तयारी भएको हो ।
हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताउनु भयो । सबै परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामाग्री शनिवार ढुवानी गरीएको छ ।
वस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जसअनुसार जिल्ला विपल व्यवस्थापन समितिले आवस्यक टेन्ट उपलब्ध गराउने निर्णय बमोजिम आजै ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरीएको छ ।
जुगल गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ ।
जिल्ला आयोजना कार्यान्वयन इकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउने छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ ।
प्रदेश सांसद सरेश नेपाल, पूर्व सांसद सुवाष कर्माचार्य सहितको टोली स्थलगत भ्रमण गरी स्थानीयसंग छलफल गर्नु भएको थियो ।
आइतबार बिहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी खटिएर टेन्ट जडान तथा सुरक्षाको प्रवन्ध मिलाउने श्रेष्ठले बताउनुभयो ।
९ दिन अघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये ३२ को शव फेला परेको छ भने ७ जना अझै बेपत्ता छन् ।








प्रतिक्रिया राख्नुहोस्