तपाईँ सुन्दै हुनुहुन्छः

बारा, पर्सा, रौतहटमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

बीरगंज । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा पर्सा, बारा र रौतहटमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये पर्साका ५४ जना बाराका पाँच जना र रौतहटका एक जना रहेका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा चार सय ५० जनाको पीसीआर परीक्षण गरिएकोमा ६० जनामा संक्रमण देखिएको र सङ्क्रमितमध्ये अधिकांश पर्साको पर्सा गढी नगरपालिकाका रहेको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा.निरज सिंहले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्साले दिएको पछिल्लो जानकारी अनुसार पर्सा जिल्लामा हालसम्म तीन सय ८० जना महिलासहित एक हजार सात सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये २२ जना भारतीय नागरिक, एक सय १८ जना स्वास्थ्यकर्मी, ८५ जना सुरक्षाकर्मी, आठ जना पत्रकार, ८९ कैदी–थुनुवा, ४८ जना अस्पतालका सफाइकर्मी, गार्ड र कार्यालय सहयोगी रहेको जिल्ला प्रशासन कार्यालयको प्रेस नोटमा उल्लेख गरिएको छ ।

पर्सामा सङ्क्रमित भएका मध्ये २७ जना महिलासहित एक सय ३८ जना आइसोलेसनमा रहेका छन् । दुई सय चार जना महिलासहित छ सय पाँच जनालाई होम आइसोलेसनमा र २१ जना महिलासहित एक सय एक जना शङ्कास्पद मानिस क्वारेन्टिनमा रहेको जिल्ला प्रशासन कार्यालयको प्रेस नोटमा उल्लेख गरिएको छ ।

पर्सामा हालसम्म १७ हजार दुई सय ६६ जनाको स्वाब सङ्कलन गरिएकोमा तीन सय ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोरोना सङ्क्रमणबाट पर्सामा मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।

हाल नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा ७० बेड, अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा एक सय २० बेड र नारायणी अस्पतालको आकास्मीक कक्षमा २० बेड गरी जम्मा दुई सय १० बेडको आइसोलेसन सेन्टरमा सङ्क्रमितको उपचार भइरहेको छ भने स्कुल, धर्मशाला, होटललगायतका ठाउँमा चार सय ९५ बेड सेमी आइसोलेसन बनाएर सङ्क्रमितलाई राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button