बुद्ध रंगशालाको संरक्षणका लागि तारजाली गरिदै
भैरहवा । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ४ मा रहेको बुद्ध नगर सामुदायिक टोलको खेल मैदान स्तरोन्नती हुँदैछ । जनआस्था पृथ्वी क्लवका अध्यक्ष उदय आलेको नेतृत्वमा बुद्ध नगर सामुदायिक टोलको खेलमैदान वरिपरि तार जाली लगाउने काम सुरु भएको हो ।
खेलमैदानको संरक्षणका लागि तारजाली लगाउने कार्यको शुभारम्भ गर्दै कञ्चन ४ का वडा अध्यक्ष दुर्गा बहादुर क्षेत्रीले बुद्ध रंगशाला निर्माणका लागि आफ्नो वडाबाट हुने सहयोग तथा साथ रहने र रंगशाला निर्माणमा सबैजनाले मनदेखी सहयोग गर्न आग्रह गर्नु भएको छ ।
यस्तै खेलकुद स्वास्थ्यका लागि भएको र दिर्घायु जीवनका लागि जिवनमा खेलकुद अनिवार्य रहेकोले हरेक वडामा खेलकुद मैदानको निर्माण र भइरहेका खेलकुद मैदानहरुलाई मर्मत, संरक्षण र स्तरउन्नती गर्दै लैजाने गाउपालिकाको योजना भएकोले गाउपालिकाबाट सहयोग उपलब्ध गराउन आफुले सहयोग गर्ने बताउनु भएको छ ।
खेलमैदान संरक्षणमा ढिलाइ भएपनि अब काम द्रुतगतिमा हुने र स्थानीय तहकै नमुना रंगशाला बनाउने आलेले बताउनु भयो । मैदानमा मानिस हिँड्ने ट्रयाक, रनिङ ट्रयाक र त्यसपछि फुटबल ग्राउण्ड बनाइने अध्यक्ष आलेले बताउनुभयो ।
अध्यक्ष आलेले बुद्ध रंगशालाको वरिपरि शारीरिक व्यायामका सामग्रीहरु जडान हुनुका साथै पार्क र पार्किङ पनि निर्माण गरिने समेत बताउनु भयो ।
राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिने गरी दर्शकहरुका लागि सेमी प्याराफिट सहित कंक्रिटको कुर्सी बनाइने र बुद्ध रंगशाला निर्माणका लागि आर्थिक सहयोग गर्न सबैमा अपिल समेत गर्नु भएको छ ।
बुद्ध रंगशालालाई स्थानीय तहकै नमूनाको रुपमा विकास गरिने क्लबका सचिव हिमाल थापाले बताउनु भएको छ । बुद्ध रंगशालाको वरिपरि पहिलो चरणमा तारजालीले बार लगाई खेलमैदानको संरक्षण गरिने सचिव हिमाल थापा बताउदै खेलमैदानको वरीपरी तारजाली लगाउने काम सुरु भएको बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्