विपद् प्रतिकार्यमा जुट्न मुख्यमन्त्री शाहीको निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम तथा विपद् प्रतिकार्यमा सक्रियतापुर्वक जुट्न प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको छ ।
आज प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठकको आयोजना गरी उहाँले नागरिकको जीउ धनको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले सबै पक्ष जवाफदेही बन्नुपर्ने बताउनु भएको हो ।
संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीमा प्रवेश गर्नेहरुसँग अनिवार्य पीसीआर रिपोर्ट माग गर्ने निर्णय गरेको बताउँदै उहाँले निर्णयलाई कडाईपूर्वक कार्यान्वयन गर्न, गराउन निर्देशन दिनु भयो ।
प्रदेशमा मेलापर्वको समय शुरु भईसकेकाले कुनै पनि मेला, महोत्सव, भेला, तथा राजनीतिक भेला, बैठक र भिडभाड हुने गतिविधि कडाईपुर्वक रोक्न आग्रह गर्नु भयो ।
वर्षायामका कारण बाढी, पहिरोजस्ता प्राकृतिक विपद्बाट बढी क्षति हुने भएकाले उद्दार, उपचार, राहात तथा पुनस्र्थापना कार्यलाई प्रभावकारी बनाउँदै विपद्ले पुर्याएको क्षति एवं घाईतेहरुको अवस्थाका बारेमा तत्काल रिपोर्टिङ्ग गर्न सुझाव दिनु भयो ।
प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा अक्सिजन, कम्तीमा एउटा भेन्टीलेटर र ५ देखि ७ वटा आईसीयू वेड व्यवस्था गर्न लागेको जानकारी गराउँदै उहाँले जिल्ला विपद व्यवस्थापन केन्द्र (डिसिएमसी) बैठकवाट स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर प्रदेशका हरेक नागरिकलाई अनिवार्य मास्क लगाउने व्यवस्था मिलाउनु निर्देशन दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्