निषेधाज्ञा उल्लङ्घन गर्ने २८० प्रहरी नियन्त्रणमा

भक्तपुर । भक्तपुरमा निषेधाज्ञा उल्लङ्घन गर्ने दुई सय ८० जनालाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही गरेको छ । नियन्त्रणमा लिएका मध्य पुरुष दुई सय ३७ जना र महिला ४३ जना रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताउनुभयो । अटेर गरी बिना काम बाहिर निस्कनेलाई दुई घण्टा होल्डिङमा राख्ने गरिएको प्रहरीले जनाएको छ ।
बिहानैदेखि प्रहरीले कडा निगरानीमा निषेधाज्ञालाई पालना गराइ राखेका छन् । त्यसै गरी निषेधाज्ञा तोड्ने सवारी साधनमा १ सय १५ वटा रहेको गिरीले जानकारी दिनुभयो । जसमा मोटरसाइकलमा एक सय १२ वटा र साना सवारी ३ वटा रहेका छन् । बुधवार रातिदेखि जारी गरिएको निषेधाज्ञाको पालना गराउन सहरका चोक चोकमा प्रहरी खटिएका छन् ।
बिना काम निषेधाज्ञा उल्लङ्घन गरी सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरीले सडकमै नियन्त्रणमा लिई उभ्याउने गरेका छन् । त्यस्तै सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर त्यसमा सवार व्यक्तिलाई होल्ड गरिएको छ ।
निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सर्वसाधारणलाई यताउता हिँडडुल गर्न बन्देज लगाइएको छ । त्यस्तै अत्यावश्यक काममा जाने भनी तोकिएका व्यक्तिहरू बाहेक अरू कसैले सवारीसाधन चलाउन पाइँदैन ।
यसरी कडा व्यवस्था गरिँदा पनि अनावश्यक रूपमा सडकमा आउनेलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीको भनाई छ । यसरी नियन्त्रणमा लिइएकाहरूलाई बिहीबार पहिलो दिन भएकाले दुई घण्टाभन्दा बढी नियन्त्रणमा राखी छोडिएको भए पनि भोलिदेखि नियन्त्रणमा लिएर कारबाही गर्ने परिसरका प्रहरी उपरीक्षक तारादेवी थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्