तपाईँ सुन्दै हुनुहुन्छः

११ बर्षीया बालिकासहित तीन जनामा कारोना संक्रमण

उदयपुर । उदयपुरमा बिहीबार ११ बर्षीया बालिका र नेपाल प्रहरीका जवानसहित तीन जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पताल विराटनगरको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट त्रियुगा नगरपालिका १० का ११ बर्षीया बालिका, ३२ बर्षीय प्रहरी जवान र ४२ बर्षीय शिक्षकमा कोरोना पोजेटिभ देखिएको हो ।

प्रहरी जवान साउन २८ गते सुनसरीबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएका हुन भने त्रि.न.पा. ९ घर भएका शिक्षक त्रि.न.पा. १० स्थित बालमन्दिर माध्यमिक बिद्यालयका बोक्सेका शिक्षक हुन् ।

साउन २८ गते जिप्रकामा आईपुगेका जवान अन्यसँग भेटघाट नै नगरी सोही दिन प्रहरी परिसर भित्र रहेको क्वारेन्टाईनमै बस्दै आएको एसपी भिमबहादुर दाहालले बताए । एसपी दाहालका अनुसार संक्रमण फैलन नदिन कार्यालयमा सरुवा भएर आएका सबैलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने र पाँच दिनपछि पिसिआर टेष्ट गर्ने व्यवस्था मिलाईएको छ ।

प्रहरी परिसर भित्रै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरिएकाले संक्रमणबाट सुरक्षित रहेको उनको भनाई छ । यो सँगै उदयपुरमा संक्रमितको संख्या एक सय १० पुगेको छ । त्यसमध्ये ३० जना महिला ७९ जना पुरुष र एक जना बालिका रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

साउन १६ गते मालपोत कार्यालयका खरिदारमा कोरोना देखिएपछि कन्ट्रयाक्टेसिनका आधारमा ४२ बर्षीय शिक्षकमा कोरोना देखिएको हो । कर्मचारीमा संक्रमण देखिएसँगै समुदाय स्तरमा कोरोना फैलिएको भन्दै स्थानीय प्रशासनले सदरमुकाम रहेको त्रियुगा, चौदण्डिगढी र बेलका नगरपालिका क्षेत्रमा निषेधाज्ञा र कटारी नगरपालिकामा लकडाउन गरिएको छ ।

जिल्लामा कोरोना संक्रमित देखिएका मध्ये त्रियुगा नगरपालिकामा ६४ जना, बेलका नगरपालिकामा ३२ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लामा हालसम्म एक हजार सात सय २३ महिलासहित ६ हजार ६ सय ५७ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएकोमा एक हजार ६ सय ५८ महिलासहित ६ हजार चार सय १६ जनाको रिर्पोट आइसकेको र बाँकी दुई सय ४१ जनाको आउने क्रम जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार हाल सात जना महिलासहित एक सय ३७ जना क्वारेन्टाइनमा छन् भने १८ महिला सहित चार सय ७२ जना होम क्वारेन्टाईनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button