संक्रमितलाई भेट्न उपमहानगरको घरदैलो अभियान

रुपन्देही । कोरोना संक्रमण पुष्टि भएर लक्षण नदेखिएपछि होमआइसोलेसनमा बसेका संक्रमितको आत्मबल बढाउन बुटवल उपमहानगरले घरदैलो कार्यक्रम शुरु गरेको छ ।
उपमहानगर प्रमुख शिवराज सुवेदीसहितको टोलीले नगरभित्र होम आइसोलेसनमा बसेकालाई आयुर्वेदिक औषधि बोकेर घरदैलो अभियान संचालन गरेको हो ।
टोलीले साथमा स्वास्थ्य सावधानीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर जाने गरेको छ । संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, सजगताका उपाय सिकाउन र उनीहरुको मनोबल बढाउन घरदैलो अभियान सुरु गरिएको नगरप्रमुख सुवेदीले बताउनुभयो ।
पहिलो दिन २६ स्थानमा रहेका होम आइसोलेनका संक्रमितलाई भेटेर स्वास्थ्य लाभको कामना गरेको सुवेदीले बताउनुभयो ।
उपमहानगरमा कोरोना विशेष अस्पताल र आइसोलेसन भए पनि लक्षण नदेखिएका संक्रमित र कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई होम आइसोलेसनमै राखिएको छ । बुटवलमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ ।
संक्रमित भएपछि सामाजिक संजालबाट सार्वजनिक हुनुभएका बुटवल १३ का रुद्र आचार्यले चार जनाको परिवार संक्रमित भएर घरमै बसेको समयमा नगरप्रमुखसहितको टोली घरमै आएर थप आत्मबल बढेको बताउनुभयो । संक्रमितको अवस्था बुझ्न शुरु गरेको यो अभियानले टोलछिमेकमा सकारात्मक सन्देश दिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्