प्रदेश नंं २ मा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो

जनकपुरधाम । प्रदेश नंं २ का विभिन्न जिल्लाहरूमा कोरोनाका सक्रिय सङ्क्रमितहरूको सङ्ख्या आज सम्ममा चार हजार नाघेको छ ।
आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम गरिएको पिसिआर परीक्षणमा धनुषा, महोत्तरी, सर्लाहीमा ४८ जना तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा, बारा तथा रौतहटका गरी ५३ जना कोरोनाका नयाँ बिरामी थप भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बुधवार साँझसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार नौ सय ६० रहेकोमा आज थप भएको सङ्क्रमितसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७० पुगेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक बिजयकुमार झाले जानकारी दिनुभयो ।
पर्सा जिल्लामा मात्र विभिन्न आइसोलेसन चार सय ६० जना तथा होम आइसोलेसनमा सात सय ४७ जना गरी एक हजार दुई सय सात जना पुगेको छ ।
यसै गरी रौतहट जिल्लाका विभिन्न आइसोलेसनमा ५९ जना तथा होम आइसोलेसनमा छ सय ९० जना गरी सात सय ४९ जना सक्रिय सङ्क्रमित रहेको प्रदेश नं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसै गरी महोत्तरी जिल्लाका विभिन्न आइसोलेसनमा ४१ जना तथा होम आइसोलेसनमा छ सय गरी कूल छ सय ४१ जना सङ्क्रमित रहेका छन् ।
त्यस्तै धनुषा जिल्लामा आइसोलेसनमा ९८ जना तथा होम आइसोलेसनमा तीन सय चार जना गरी कूल चार सय दुई जना सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनुभयो ।
सर्लाही जिल्लामा विभिन्न आइसोलेसनमा एक सय ९६ जना तथा होम आइसोलेसनमा एक सय ४७ जना गरी कूल तीन सय ४३ जना सक्रिय सङ्क्रमित उपचाररत रहेका छन् ।
त्यस्तै गरी बारा जिल्लामा विभिन्न आइसोलेसनमा ४२ जना तथा होम आइसोलेसनमा दुई सय ५९ जना गरेर तीन सय एक जना सक्रिय सङ्क्रमित रहका छन् ।
सप्तरी जिल्लाका विभिन्न आइसोलेसनमा दुई सय २० जना तथा होम आइसोलेसनमा एक जना गरी दुई सय २१ जना सक्रिय कोरोनाका सङ्क्रमितहरू उपचारमा रहका छन् ।
सबैभन्दा कम सिराहा जिल्लाका विभिन्न आइसोलेसनमा ५५ जना तथा होम आइसोलेसनमा १४ जना गरी ६९ जना उपचारमा रहका छन् ।
प्रदेश नंं २ मा हालसम्म सङ्क्रमित हुनेहरूको सङ्ख्या सात हजार आठ सय ८३ पुगेकोमा त्यस मध्ये हालसम्म कोरोनालाई पराजित गरेर निको हुनेहरूको सङ्ख्या तीन हजार आठ सय ७६ पुगेको छ ।
विगत केही समययता निको हुनेभन्दा सङ्क्रमित हुनेहरूको सङ्ख्या बढेका कारणले सक्रिय सङ्क्रमितहरू प्रदेश भरी नै बढ्न थालेको छ ।
प्रदेश नंं २ को सप्तरी जिल्लामा आज मात्र एक जना पुरुषको कोरोनाका कारणले मृत्यु भएसँगै मृतकको सङ्ख्या ४८ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अहिले कोरोनाका सङ्क्रमितहरूमा कोरोनाका लक्षणसहितको सिम्टमहरु देखिन थालेका कारणले कोरोनाबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय भएको प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विशेष अस्पतालका संयोजक डा.जामुनप्रसाद सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्