तपाईँ सुन्दै हुनुहुन्छः

सर्प दंशले मृत्यु हुनेको सङ्ख्या बढ्दै

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा यस वर्ष सर्प दंशबाट छ जना व्यक्तिको मृत्यु भएको छ । गत वर्ष दुई जना बिरामीको मृत्यु भएकोमा यस वर्ष भने मृत्यु हुनेको सङ्ख्या बढेको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा एक जना पुरुष रहेका छन् भने पाँच जना महिला रहेका छन् ।

गत वर्ष महिला र पुरुष एक एक जनाको मृत्यु भएको थियो । मृतकको सङ्ख्यामा वृद्धि भए पनि सर्प दंशका बिरामीको सङ्ख्या भने गत वर्ष भन्दा थोरै रहेको प्रवक्ता डा. विष्णु शर्माले बताउनुभयो ।

गत वर्ष ५८ जना पुरुष र ९५ जना महिला गरी एक सय ५३ जना सर्पले टोकेर अस्पताल आएकोमा यस वर्ष १ सय ४ जना अस्पताल आएका छन् । अस्पताल प्रशासनका अनुसार यस वर्ष ४८ पुरुष र ५६ महिला सर्पले टोकेको भन्दै अस्पताल आएका थिए ।

पछिल्ला वर्षहरूमा छिमेकी जिल्ला र जिल्लाभित्रै पनि विभिन्न स्थानमा सर्प दंश उपचार केन्द्र स्थापना गरिएपछि सर्पले टोकेका गम्भीर अवस्थाका विरामीमात्र अस्पताल आउन थालेका छन् ।

बाहिरी जिल्लाका सर्प दंश उपचार केन्द्रमा उपचार हुन नसकेका र रुपन्देही तथा सर्प दंश उपचार केन्द्र स्थापना नगरिएका जिल्लाका बिरामीहरू बुटवल आउने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button