तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य अवस्था जटिल भएका दुई सुत्केरी महिला र एक शिशुको हेलिकप्टरमार्फत उद्धार

 

सोलुखुम्बु । सोलुखुम्बुबाट जटिल स्वास्थ्य अवस्था भएका दुई सुत्केरी महिला र एक शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

खुम्बु पासाङल्हमू गाउँपालिका–१ की सुत्केरी महिला कामिनी तामाङ र नेचासल्यान गाउँपालिका–१ सल्यानकी सुत्केरी महिला मनिषा तामाङको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडाँै पठाइएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा सुत्केरी भएकी मनिसाको बच्चाका लागि आइसियु आवश्यक परेकाले काठमाडाँै रेफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका प्रमुख डा.अभिषेक सुमनले जानकारी दिनुभयो ।

त्यस्तै, खुम्बु पासाङल्हमू गाउँपालिकामा सञ्चालित पासाङल्हमू निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी गराउने क्रममा सालनाल अड्किएपछि आएको समस्या समाधानका लागि कामिनी तामाङलाई उद्धार गरिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यसैबिच, गएको आर्थिक बर्ष २०७६/७७ र चालु आर्थिक वर्षमा गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सोलुखुम्बुमा नौ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि लक्षित गरी २०७५ सालबाट सुरु गरेको कार्यक्रम गर्भवती तथा सुत्केरी महिलाहरूको उद्धारमा सोलुखुम्बुमा पनि प्रभावकारी देखिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button