तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोट नरहरिनाथमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता

कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ५ मा पर्ने चाउथे गाउँमा गए राति पहिरो जाँदा चार जना बेपत्ता भएका छन् ।

चाउथे गाउँमा माथिबाट पहिरो जाँदा १२ घर मध्ये दुई घर पुर्णरुपमा क्षति ग्रस्त भएका छन् । गाउँ माथिबाट आएको पहिरोले घर बगाउँदा दर्जनौँ पशु चौपाया समेत मरेको र ठुलो धनमालको क्षति भएको नरहरिनाथ गाउँपालिका–५ का अध्यक्ष गगन फडेराले बताउनुभयो ।

नरहरिनाथ–५ रुप्साबाट रामारोशन जाने बाटोमा रहेको उतm गाउँमा माथिबाट पहिरो जाँदा चन्द्र सहकारी र तुल सहकारीको घर भत्किँदा चार जना बेपत्ता भएको नरहरिनाथ गाउँपालिका–५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका गगन फडेराले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा वर्ष ६० का चन्द्र सहकारी र बुहारी पम्फा सहकारी, तुल सहकारीकी श्रीमती झिमु सहरकारी र उनका सात बर्षका  छोरा रमित सहकारी बेपत्ता भएका छन् ।

गाउँमा दुवै तर्फबाट भीषण पहिरो र ठुला खोला बगिरहेकाले गाउँमा उद्धारका लागि पनि जान नसकिने अवस्था रहेको वडा अध्यक्ष फडेराले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाउनासाथ कुमालगाउँ इलाका प्रहरी चौकीबाट प्रहरी घटनास्थल पठाइएको कालिकोट प्रहरी सहायक निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो । प्रहरी घटनास्थल पुगेपछि मात्रै क्षतिको यकिन थाहा हुने उहाँको भनाइ रहेको छ ।

उता वडा अध्यक्ष सहितको स्थानीय युवाहरूको टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको वडा अध्यक्ष फडेराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button