तपाईँ सुन्दै हुनुहुन्छः

गुनासो रहित क्वारेन्टीन

सोलुखुम्बु । मुलुकभरका विभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टीन व्यवस्थित नहुँदा कोरोना शङ्कास्पद व्यक्तिलाई बस्नका लागि निकै असहज भएको गुनासो आइरहँदा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले सदरमुकामको फाप्लुमा निर्माण गरेको ५० बेडको क्वारेन्टीनमा बस्ने सन्तुष्ट देखिएका छन् ।

व्यवस्थापनमा कुनै पनि कमी नभएको वैदेशिक रोजगारीबाट आएर क्वारेन्टीनमा बसिरहेका युवाहरूले बताएका छन् । नगरपालिका–४ फाप्लु (यर्मादिङ)मा नगरपालिकाको व्यवस्थापनमा ५० बेडको क्वारेन्टीन सुविधा सम्पन्न रहेको छ ।

साउदी अरबबाट आएर बस्ने एकनाले भन्नुभयो, हामी हर्कपुरको होल्डिङ सेन्टरमा धेरै दुःखले बसियो, यहाँ आएपछि घरमा बसे जस्तै लागेको छ, घरको भन्दा राम्रो सुविधा छ । खान, बस्न तथा इन्टरनेट सहित सबै सुविधा भएको उहाँले बताउनुभयो ।

उहाँ जस्तै त्यहाँ बस्ने सबैले एकै स्वरमा भने, खान, बस्न, खानेपानी, शौचालय, इन्टरनेट र खेलकुदको समेत व्यवस्था भएकाले कुनै पनि सुविधाको अभाव महसुस भएको छैन । नगर प्रहरीको रेखदेख धेरै राम्रो भएको र मेयर आफैँ समय समयमा भेटघाट तथा छलफल हुने भएकाले कुनै दिक्दारी नभएको उनीहरू बताउँछन् ।

जिल्लाकै सदरमुकाममा सञ्चालित क्वारेन्टीन भएकाले पनि वैदेशिक रोजगारीबाट आएका जिल्लाभरका नागरिक सोही क्वारेन्टीनमा बस्छन् । पिसिआर रिपोट आएपछि मात्र उनीहरूलाई गाउँ पठाउने गरेको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिनुभयो । यहाँ बस्ने सबैले अत्यन्तै गुणस्तरीय भएको प्रतिक्रिया आउँदा खुसी लाग्ने बताउँदै मेयर शेर्पाले क्वारेन्टीनमा बस्नेलाई एक्लो महसुस नहोस् भनेर आवश्यक सामग्री सहित समय समयमा भेट्न गइरहने उहाँको भनाइ छ ।

क्वारेन्टीन व्यवस्थापनका लागि नगरपालिकाले नगर प्रहरी लगायतका कर्मचारी परिचालन गरेको छ । उनीहरूले क्वारेन्टीन क्षेत्रमा देखा पर्ने समस्या समाधानमा भूमिका खेल्नेछन् । उनीहरू बिच हेलमेल कम गर्न, भेट्न जाने आफन्तको भेटलाई सुरक्षित बनाउन, खानपिन र बसाइ व्यवस्थापनमा अहोरात्र खट्दै आएको क्वारेन्टीन व्यवस्थापक ङवाङनुरु शेर्पा बताउनुहुन्छ ।

जिल्लाभरका नागरिकलाई क्वारेन्टीन बसाइको व्यवस्थापन मिलाएको नगरपालिकाले क्वारेन्टीन अवधिभर कुनै पनि गुनासो नआओस् भनेर मेयर शेर्पा क्वारेन्टीन स्थलमा कोसेली सहित आउँदा अभिभावकत्व दिलाएको बस्नेहरुको भनाइ छ । नगरपालिकासहित जिल्लाका अधिकांश गाउँपालिकाका ३० जना युवाहरू रहेको क्वारेन्टीनमा यसअघि विदेशबाट आएका १७० जना भन्दा बढी बसिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button