तपाईँ सुन्दै हुनुहुन्छः

मुसिकोटमा लगाइएको निषेधाज्ञा हटाइयो

रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा लगाएको निषेधाज्ञा हटाएको छ । आज एक सूचना प्रकाशित गर्दै यसअघि जारी गरेको निषेधाज्ञा वर्तमान समयमा पुनः जारी गरिरहनु नपर्ने अवस्था देखिएकोले हटाइएको उल्लेख गरिएको छ ।

रुकुम पश्चिम मुसिकोट नगरपालिकाका एक व्यवसायीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बजारका अन्य व्यक्तिहरूलाई पनि संक्रमण बढ्ने अनुमान गर्दै प्रशासनले चार किल्ला तोकेर साउन २८ गतेबाट एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो । जसले गर्दा सदरमुकाम मुसिकोट खलङ्गा सहित आसपासका बजारहरू पुर्णरुपमा बन्द रहेका थिए भने आवतजावतमा पनि कडाइ गरिएको थियो । निषेधाज्ञा हटाएको भए पनि कोरोना भाइरसबाट जोगिन सरकारले बेला बेला जारी गरेका निर्देशन र सूचनाको पुर्ण रूपमा कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ । त्यस्तै महिलाहरूको पर्व हरितालिका तीज लगायतका अन्य चाडपर्वहरूको समयमा भिडभाड पूर्ण तरिकाले नमनाउन पनि अनुरोध गरेको छ ।

मुसिकोटका उक्त सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका धेरैको स्वाब परीक्षण गरिए पनि सबैको नेगेटिभ आएको छ भने सङ्क्रमित व्यक्तिको पनि दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । रुकुम पश्चिममा हालसम्म ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २७ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button