तपाईँ सुन्दै हुनुहुन्छः

परिपक्क नहुँदै जुम्ली स्याउ बजारमा


जुम्ला । जुम्लाको अर्गानिक स्याउ परिपक्क नहुदै बजारमा पुगेको छ । कर्णाली राजमार्ग संग जोडिएका यहाँका तातोपानी र तिला गाउँपालिकाका किसानले निर्णय उल्लघन गर्दै काँचो स्याउ विक्री गरेको पाइएको छ । भदौ दोस्रो सातापछि मात्र जुम्लाबाट स्याउ निर्यात गर्न पाईने निर्णय गरेपनि लुकिछिपी किसान र व्यापारी मिलेर नपाक्दै जुम्ली स्याउ बजारमा पुराइएको हो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा भन्छन,“ स्याउ पुर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना हुनुपर्छ । ७० प्रतिशत कलर चढिसकेको हुनुपर्छ । भने, ६५ देखि ५५ एमएम सम्मको दाना हुनु पर्छ, अनिमात्र बिक्रिका लागि बजारमा लिन योग्य मानिन्छ ।” तर किसान र व्यापारीले पछि मुल्य कम पाउने र शुरुमै पठाउँदा मुल्य बढी पाउने आशामा जुम्ली स्याउको पहिचान नै खतरामा पर्ने गरी धमाधम स्याउ निर्यात गरिरहेको उल्लेख गर्नुभयो ।

देवकोटाका अनुसार दुई स्थानीय तहबाट करिब ६० देखि ७० टन सम्म नपाकेको स्याउ बजार सम्म पुगिसकेको छ । आठै स्थानीयतहका कृषि शाखाले भदौको १० गते भन्दा अगाडी सिफारीस नदिने र दोस्रो साता १५ गतेपछि मात्र स्याउ टिप्ने सूचना गरिएको थियो । तर तातोपानी र तिला गाउँपालिकाका वडाध्यक्षहरुले मनपरी रुपमा ढुवानीको लागि सिफारीस दिदा काचो स्याउ निर्याता रोक्न नसकिएको हो । काँचो स्याउको निर्यात रोक्नका लागि स्थानीयतहका कृषि शाखाका कर्मचारी गम्भीर देखिएका छैनन् ।

यस गर्दा जुम्ली स्याउको गुणस्तरीयता, अर्गानिक पहिचान माथि प्रश्नचिन्ह खडा हुने देखिएको छ । स्थानीय तहले स्याउको महत्व बुझ्न नसक्दा बजारमा काँचो स्याउ पुगेको कृषि विज्ञ बताउँछन् । थोरै मुल्य किसानले बढी पाएपनि नपाक्दै स्याउ बजारमा लिँदा जुम्ली स्याउको दिर्घकालिन बजारमा असर गर्ने समेत विज्ञहरु बताउँछन् ।

५० प्रतिशतले स्याउ उत्पादन घट्ने

जुम्लामा यस वर्ष ५० प्रतिशतले अर्गानिक स्याउ उत्पादनमा गिरावट आउने कृषि विज्ञहरुले अनुमान गरेका छन् । गत वर्षको तुलनामा ५० प्रतिशत स्याउ उत्पादन घट्ने अनुमान गरिएको हो । स्याउ उत्पादनबाट परिवार चलाएका तथा स्याउमै निर्भर किसानको भने यस वर्ष ढाड सेकिने अवस्था छ ।

कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार,“गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको थियो । भने, यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने देखिन्छ । करिब साढे ५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ ।” एकातर्फ स्याउ उत्पादन दोब्बरले घटेको छ । भने नपाक्दै स्याउ बजारमा लिएपछि पहिचानै खतरा हुने अबस्था आएको छ ।

बरिष्ठ स्याउ किसान रामसिंह रावल भन्छन,“यस वर्ष असिना पानी, खडेरी र कालो तुसारोका कारणले स्याउ उत्पादन ५० प्रतिशतले घट्यो । गत वर्ष मात्रै १५/२० लाखको कारोबार गरेका थिए, यस वर्ष ५/६ लाख पुराउन पनि हम्य हुने देखियो ।” सलह किराले नत अन्नबालीनै राम्रो छ, कालो तुसारोले स्याउ सखाप भईसक्यो किसानलाई राहतको व्यवस्था गर्नुपर्ने अबस्था आएको उहाँको भनाई छ ।

जुम्लाका १९ हजार घरधुरी मध्य १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको सरकारी तथ्यांक छ । आर्थिक वर्ष २०७४/७५ मा १६ करोड बराबरको स्याउ निर्यात भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा १७ करोड स्याउबाट जुम्ला भित्रिएको थियो । भने, आर्थिक वर्ष २०७६/०७७ मा दुई आर्थिक वर्षकै दोब्बरले ३४ करोडको स्याउ निर्यात भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button